चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, ११‍:२० को फ्लाइट

चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ, ११‍:२० को फ्लाइट

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबारदेखि पाँचदिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा निस्किएका छन्।

राती ११:२० को उडानमार्फत छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भई बुधबार उनी ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुनुहुनेछ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ भने दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र अन्तराष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन्।

सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सरिक हुनेछन्।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेट गर्नेछन् भने त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनेछन्।

त्यसपछि विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने उनले दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्नेछन्।

शनिबार विहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नेछन्। दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।

शनिबार नै छेन्दु फर्किएर आइतबार विहानको उडानमार्फत विहान ११:१० बजे उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रनेछन्।

उनको चीन भ्रमणको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल हुनेछन्।

असार १२, २०८० मंगलबार २०:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।