वडामा बजेट नपरेको भन्दै घोराही ८ का वडा अध्यक्षले दिए राजीनामा

वडामा बजेट नपरेको भन्दै घोराही ८ का वडा अध्यक्षले दिए राजीनामा

दाङ : घोराही ८ नम्बर वडाका अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। उनले बजेटको विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन।

एमालेबाट निर्वाचित शाहले  घोराही उपमहानगरपालिकाको १३ औँ नगर सभामै नगर प्रमुख नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएर बाहिरिएका थिए।

आफ्नो वडामा बजेट हाल्ने विषयमा पटक-पटक आश्वासन दिए पनि पुरा नभएको भन्दै उनले राजीनामा दिएको हो। आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालेपछि पदमा बस्नु भन्दा राजीनामा दिनु नै उपयुक्त हुने ठहर गरेर राजीनामा दिएको उनले बताए।

उनले यसअघिको बजेट ल्याउँदा पनि फेसबुकमा राजीनामा दिने घोषणा गरेका थिए। तर अन्तिममा राजीनामा दिएनन्।

उनले टोलवासी सबैलाई बोलाएर आफूले बजेट हाल्न नसकेको भन्दै राजीनामा दिन सुझाव लिएका थिए। अब उनले आगामी निर्वाचनमा मेयरको तयारी गर्ने दाबी गरेका छन्।

असार १२, २०८० मंगलबार १९:२०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।