धर्मको नाममा ‘गौरी गुरु’ को चर्तिकला, शिव हुँ भन्दै महिलाभक्तलाई यौनाङ्गको टीका लगाइदिन्थे

धर्मको नाममा ‘गौरी गुरु’ को चर्तिकला, शिव हुँ भन्दै महिलाभक्तलाई यौनाङ्गको टीका लगाइदिन्थे

काठमाडौं : महाराजगञ्जमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पहिलो तलाको हल महिलाहरूले भरिएका थिए। बीचमा थिए खैरो कपडाधारी एक व्यक्ति। झुस्स दाह्री पालेका उनलाई २० जना महिला अनि केही पुरुषले घेरिरहेका थिए।

‘मास्क खोल्नु मास्क। के लुकिराखेको’ भन्दै हप्काइरहेका थिए। ‘दिउँसो म तपाईंहरूसँग हुन्छु अनि बेलुका शिवलिङ्गमा विलीन हुन्छु’ भनेर हामीलाई प्रभावमा पार्ने भन्दै एकोहोरो हप्काउँदा उनी ‘हजुर हजुर’ भन्दै थिए।

५० कटेका देखिने उनी थिए ओम आश्रमका प्रमुख पुरुषोत्तम काफ्ले उर्फ शिव सुत गौरी। गौशालामा उनको आश्रम छ।

भक्तजनहरूलाई यौन दुर्व्यवहार गर्ने, प्रभावमा पारेर पैसा र गहनासमेत लिने गरेको आरोप लागेपछि उनी भागेका थिए। भागेर भारत पुगेका उनलाई चार दिन अगाडि ब्यूरोले समातेर नेपाल ल्याएको थियो।

त्यहाँ भेला भएका महिलाहरूले उनका चर्तिकला सुनाउँदा धर्मको नाममा ठग्नेहरूले कतिसम्म निकृष्ट काम गर्न सक्छन् भन्ने देखिन्थ्यो।

कतिको घरबार बिग्रिएको थियो। कतिले दु:ख गरेर जोडेको सम्पत्ति प्रभावमा पारेर उनले लिएका थिए। प्रहरीमा आइपुगेको विवरणमा उनले पैसा र सुन गरेर ६ करोड बढी रकम ठगी गरिसकेको देखिएको छ।

ब्यूरो प्रमुख एआइजी किरण बज्राचार्यका अनुसार  काफ्लेले महिलाहरूलाई आफूसँग शिवशक्ति भएको, महिलाहरूलाई शसक्तिकरण गर्ने भन्दै लुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइन्।

‘हामीले पुरुषोत्तम काफ्लेलाई ठगीको आरोपमा पक्राउ गरेका छौँ,’ उनले भनिन्, ‘उनले कानूनविपरीत के-के काम गरे भन्नेबारे थप अनुसन्धान भइरहेको छ।’

पुरुषोत्तमको प्रभावमा परेर पीडित भएकीमध्ये एक हुन् विद्यालक्ष्मी मैनाली। उनी १० वर्षअघि गौशालामा रहेको उनको आश्रममा पुगेकी थिइन्।

काफ्लेले प्रभावमा पारेर उनी एक्लैको २ करोड रकम अनि २१ तोला सुन बुझाएको खुलेको छ। काफ्लेले उनलाई रकम जम्मा गरी बुढेसकालमा सहज हुने, शिवको शक्ति आफूसँग भएको भन्दै केही बिरामी भए निकोसमेत हुने भन्दै यो कुरा श्रीमान् र छोराछोरीलाई नभन्नु भनेर प्रभावमा पारेका थिए।

‘आश्रममा शिवशक्ति भएको गुरू हुनुहुन्छ भनेर गइयो। उहाँले यहाँ पैसा जम्मा गरेको कुरा श्रीमान् र छोराछोरीलाई नभन्न भन्नुभयो। भन्दा नराम्रो हुन्छ भनेपछि पत्यायौँ पनि,’ उनले उकेरासँग भनिन्,‘घरमा पैसा चाहियो भनेर माग्दा पैसा छैन। यहि कारणले श्रीमान्ले सम्बन्ध विच्छेद गर्नुभयो। अहिले म माइतीको शरणमा छु।’

जाहेरी दिन आएकी अर्की महिला गौशालामै पसल गर्थिन्। आश्रमका केही स्टाफले उनको पसलको ५ लाख बराबरको सामान उधारो लगेका रहेछन्। अर्को ५ लाख रूपैयाँ गौरी गुरु भन्ने पुरुषोत्तमको आश्रमले लिएको रहेछ।

आश्रममा काफ्लेका तीन जना महिलाहरू थिए। त्यहाँ काम गर्ने महिलाले पीडित महिलाहरूको घरै पुगेर सुन दिनैपर्छ भनेर समेत ल्याएको पीडितहरूको दाबी छ।

शुरुवातमा फकाएर रकम उठाएपछि काफ्लेले पछि उनीहरूलाई श्रीमान्लाई नराम्रो हुने, सन्तानले दु:ख पाउने भनेर धम्क्याउने गरेको खुल्यो। उनले आफूले भनेको नमाने छोराछोरी र श्रीमान्सहित परिवारै मारिदिने भन्ने धम्की दिएको पीडितहरुको भनाइ छ।

महिलाहरूलाई लिङ्गको टीका लगाइदिन्थे काफ्ले
आर्थिक मात्रै हैन उनले आश्रममा आउने महिलाहरूलाई यौन दुर्व्यवहारसमेत गर्ने गरेको पीडितहरूको बयानबाट खुल्यो। पीडितहरूले उनले गरेको यौन दुर्व्यवहारबारे बताउँदा गुरु भनिने काफ्ले मौन बसेर सुनिरहेका थिए।

गौशालामा एक जर्नेलको घरमा ओम आश्रम नाम राखेका उनले १० वर्षअघि महिलाहरूलाई भेला गरी तीन दिने तालिम दिएका थिए। तालिममा उनले महिलाहरूले श्रीमान्को कमाइको भर पर्न नहुने, आफैँ काम गर्नुपर्ने भन्दै प्रोत्साहित गरेर आकर्षित गर्थे।

उनी महिलाहरूले आफ्नो संस्कार छोड्न नहुने, पाइन्ट लगाउनु, गर्भ पतन गराउनु ‘यौनकर्मी’ हुनु बराबर हो भनेर प्रवचन दिने गर्थे।

उनले आश्रममा आउनेहरूलाई आफ्नो श्रीमती अनि छोराछोरी कोही पनि नभएको अनि दिनभरी आश्रममा रहे पनि साँझ पशुपतिनाथ मन्दिरको लिङ्गमा विलीन हुने गरेको भन्दै महिलाहरूलाई आफ्नो लिङ्गको टीका लगाइदिन्थे। महिलाहरूको संवेदनशील अङ्गमा छुने, कसैको तिघ्रा र छातीमा समेत छुने गर्थे।

एक महिलाले उकेरालाई सुनाएको घटना अनुसार काफ्ले रिसाएको बेला सबै महिलाअघि आफ्नो धोती फुकालेर नाङ्गै हुन्थे।

गुरुका भिआईपी भक्त
ब्यूरोमा पुगेका अधिकांश महिलाहरू निरक्षर र सामान्य साक्षरहरू नै थिए। तर, उनको भक्तजनहरू सबै यस्तै मात्रै छैनन्।

ब्यूरोमा उनको सहयोगी महिला समेत पुगेका थिए। उनीहरूले दिएको जानकारी अनुसार दश वर्षदेखि काफ्ले गौशाला क्षेत्रमा अड्डा जमाएर बसेका हुन्।

उनको आश्रममा सामान्य महिलाहरूसँगै राज्यका शक्तिशालीहरूसमेत आउँथे। त्यसमा नेपाली कांग्रेसका पूर्व महामहान्त्री तथा सांसद् शशांक कोइराला समेत पुगिरहन्थे।

नेपाल सरकारका सचिवहरूसमेत गुरुको दर्शन गर्ने भन्ने आश्रममा पुग्थे। त्यही कार्यरत एक पीडित महिलाका अनुसार नेपाल प्रहरीमा लामो समय काम गरेका पूर्वडीआईजी एवं एमालेका पूर्व सासंद् नवराज सिलवाल समेत आश्रममा पूजा गर्न पुगिरहन्थे। उनले त तीन दिन आश्रममै बसेर पूजा नै लगाएका थिए।

महिलाहरूका अनुसार आश्रममा पशुपति मन्दिरका भट्ट समेत पुगिरहन्थे पुजा गर्न। पीडितहरूले नारायण भट्ट अनि बाशुकी भट्टको नाम पटक-पटक लिइरहेका थिए।

ब्यूरोले पीडित महिलाहरूको जाहेरी लिएर अहिले ठगीमा अनुसन्धान अगाडि बढाएको छ। केही महिलाले यौन दुर्व्यवहार गर्ने गरेको दाबी गरे पनि अनुसन्धानको क्रममा प्रमाण पुगेमा यौन दुर्व्यवहारमा पनि अनुसन्धान गर्ने ब्यूरोको तयारी देखियो।

असार १२, २०८० मंगलबार १७:४८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।