मन्त्री अन्त रिबन काट्न जान्छन् तर संसद्मा देखिंदैनन् : अध्यक्ष तिमल्सिना

मन्त्री अन्त रिबन काट्न जान्छन् तर संसद्मा देखिंदैनन् : अध्यक्ष तिमल्सिना

काठमाडौं : राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको भन्दै सांसदहरुले गुनासो गरेका छन्। 

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले समितिको निर्देशनमा पनि विभेद भएको भन्दै गुनासो गरेका हुन्।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समितिका निर्देशन कार्यान्वयन गर्नुपर्ने सरकारी निकायले विषयलाई तर्काएर भाग्न खोज्ने गरेको बताए।

‘अन्यत्र रिबन काट्न जाने मन्त्री संसद् र संसदीय समितिमा नदेखिने अवस्था छ, संसद्मा विधेयक प्रस्तुत गर्ने मन्त्रीले प्रक्रिया कहाँ पुग्यो भनी बुझ्ने चलन नै छैन,’ अध्यक्ष तिमल्सिनाले भने। उनले बजेट नभएको भनी संसद् नचलाउने कुरा नहुने उल्लेख गर्दै संसदीय प्रक्रियालाई सुदृढ गरिनुपर्नेमा जोड दिए।

दिगो विकास तथा सुशासन समितिका निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा आज समितिमा भएको छलफलका क्रममा सांसदहरुले संविधान नै संशोधन गरेर भए पनि सभाको काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट पारिनुपर्नेमा जोड दिए।

असार १२, २०८० मंगलबार १७:२१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।