आफूलाई डाक्टर भन्दै अवैध औषधि पसल चलाउने ११ जना भारतीय पक्राउ

आफूलाई डाक्टर भन्दै अवैध औषधि पसल चलाउने ११ जना भारतीय पक्राउ

महेन्द्रनगर : कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैध रुपमा औषधि पसल  सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। 

दोधारा चादँनी नगरपालिकामा अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने नौ तथा भीमदत्त नगरपालिका–९ ब्रम्हदेव र भीमदत्त–१३ साझा चौराहमा सञ्चालन गर्दै आएका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक कमल थापाले प्रहरीको विशेष खोज अनुसन्धान टोलीले अनधिकृत रुपमा औषधि पसल सञ्चालन गरी जनताको स्वास्थ्य माथि खेलवाड गर्ने र स्वास्थ्यमा जोखिम पर्ने खालका औषधी बिक्री वितरण गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको बताए।

बिनाअनुमति नेपालमा चिकित्सक भन्दै औषधि पसल  सञ्चालन गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। उनीहरुले औषधि पसलमै असुरक्षित रुपमा गर्भपतन समेत गरेको अनुसन्धानका क्रममा पाइएको छ।

पक्राउ पर्नेमा भारतको उधमसिंहनगर खटिमाका २६ वर्षीय सञ्जय विश्वास, भारतको पिलिभित नौजलियाका ४६ वर्षीय राजेश विश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोष सरकार, पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुन्धासु हल्दार, उधमसिंहनगर खटिमाका २३ वर्षीय रवि विश्वास,  खटिमाकै ३२ वर्षीय कार्तिक सरदार, ३८ वर्षीय निवास गाइन, ४९ वर्षीय निरञ्जन अधिकारी, २५ वर्षीय भूपेन्द्र पुरी, पिलिभित न्यूरियाका ३५ वर्षीय शान्तिरञ्जन बैरागी र नोदिया पोष्ट इटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन्।

असार १२, २०८० मंगलबार १६:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।