सम्बन्धित निकायले बेवास्ता गर्दा उठ्न छाड्यो रोयल्टी, विदेशबाट पनि उठाइँदै

सम्बन्धित निकायले बेवास्ता गर्दा उठ्न छाड्यो रोयल्टी, विदेशबाट पनि उठाइँदै

काठमाडौं : नेपाली गीत संगीतका सर्जकले आफ्नो गीत बजेबापत विभिन्न क्षेत्रबाट रोयल्टी पाउँदै आएका छन्।

यसका लागि ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ले सर्जकको रोयल्टी बापतको रकम उठाउँदै आएको छ। १५ वर्षअघि स्थापना भएको समाजले पछिल्लो समय १५ सयभन्दा बढी स्रष्टाहरूलाई उठेको रोयल्टी वितरण गरिरहेको छ। 

डिजिटल प्लेटफर्म, यातायात सीआरबीटी र पीआरबीटी,पाँच तारे होटल,रेस्टुरेन्ट,स्कुल,एफएम,टेलिभिजन,सार्वजनिक स्थलमा हुने मेला महोत्सवलगायत ४० भन्दा धेरै सेक्टरबाट समाजले  रोयल्टी उठाउँदै आएको छ। 

यसमध्ये सबैभन्दा धेरै रोयल्टी यातायात क्षेत्रबाट उठाउने गरेको समाजले जनाएको छ। सबै क्षेत्रबाट गत वर्ष करिब ५ करोड रोयल्टी उठेको उसले जनाएको छ। यस संस्थामा काठमाडौँ,भरतपुर चितवनबाट सबैभन्दा धेरै रोयल्टी उठ्ने गरे पनि यो पटक भने न्यून छ। 

यस वर्ष सुर्खेत यातायात समितिबाट सबैभन्दा बढी रोयल्टी उठेको छ। 

समाजका प्रमुख कार्यकारी अधिकृत मोहम्मद रफी एराकीले उकेरासँग भने, 'अहिले विदेशबाट पनि रोयल्टी उठाउन थालिएको  छ।' 

नेपालबाट कम उठे पनि विदेशमा बजेका नेपाली गीतहरू, युट्युब, फेसबुकलगायत डिजिटल प्लेटफर्ममार्फत त्यहाँको निकायसँग समन्वय गरी केही रोयल्टीमा उठाइसकिएको र उठाउने क्रम जारी रहेको उनले बताए। 

अन्तर्राष्ट्रिय बजारबाट रोयल्टी संकलनका लागि समाजले आफ्नो सम्पूर्ण कामहरू सम्पन्न गरिसकेको र मेटाडाटा संकलनका लागि अब श्रष्टाको कोटमा बल आइपुगेको समेत बताए। 

नेपालको हकमा पाँचतारे होटलले वार्षिक रूपमा प्रतिकोठा २ हजार रुपैयाँ गीतसंगीत बजाएबापत रोयल्टी तिर्दै आएको छ। चारतारे होटलले पनि प्रतिकोठा १६ सयका दरले रोयल्टीबापत रकम बुझाउँदै आएको छ। 

त्यस्तै क्यासिनोले ५ सय वर्ष फिटसम्मको वार्षिक ४० हजार र प्रतिथप २५० वर्गको २० हजार रोयल्टी रकम बुझाउनुपर्ने हुन्छ। होटल र लजको वार्षिक प्रतिकोठा २ सय रुपैयाँ रोयल्टीबापत रकम बुझाउनुपर्ने नियम छ। तर, अहिले यिनीहरूबाटै रकम उठ्न थालेको छ। 

रोयल्टी उठाइदिने सम्बन्धित निकाय प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले चासो नदिँदा यस्तो समस्या आएको उनले बताए। 

सूचना तथा सञ्चार मन्त्रालयलगायत सम्बन्धित निकायले पटक पटकको बैठकले हुन्छ भन्ने तर कार्यान्वयन नगरेको गुनासो संस्थाका सदस्यहरू बताउँछन्। 

समाजले यातायातमध्ये तीनपांग्रेबाट ८ सय ,चार पांग्रेबाट एक हजार, मझौला मिनीबसबाट १४ सय र त्योभन्दा ठूलाबाट दुई हजारका दरले वार्षिक रोयल्टी उठाउने गरेको छ। तर, यस वर्ष अधिकांश ठाउँबाट रोयल्टी नउठेपछि संस्थाले अन्तर्राष्ट्रिय क्षेत्रमा खेर गइरहेको रोयल्टी उठाउन लागि परेको जनाएको छ।

यतिबेला संस्थाले युट्युबमार्फत पनि सर्जकको रोयल्टी उठाउन थालेपछि पहिलाको तुलनामा बढ्ने देखिएको छ। विभिन्न डिजिटल प्लेटफर्मबाट बजेका नेपाली गीतसंगीतको रोयल्टी अहिले संस्थामा जम्मा हुन थालेको अधिकृत मोहम्मदले बताए। यसका लागि श्रष्टाले  रोयल्टी संकलक समाजमा गीत दर्ता गरेको हुनुपर्दछ।

गत वर्षको सबैभन्दा धेरै रोयल्टी बुझ्नेमा गीतकार तथा संगीतकार सन्तोष केसी रहेका छन्। उनले २ लाखभन्दा बढी रोयल्टी बुझेका थिए। सन्तोष केही वर्षयता सबैभन्दा बढी रोयल्टी बुझ्दै आएका सर्जक हुन्। 

कसरी बाँडिन्छ रोयल्टी 

‘संगीत रोयल्टी संकलन समाज नेपाल’ले विभिन्न क्षेत्रबाट उठाएको सर्जकको रोयल्टी कसरी प्राप्त गर्छन् त ? भन्ने जिज्ञासामा रफी एराकी भन्छन्, 'जसको गीत सर्वाधिक बजेको छ। उसले बढी पाउँछन्।' 

रेडियो,टेलिभिजन,सीआरबीटी,पीआरबीटीलगायत आधारमा जसको बढी छ त्यसैको आधारमा रोयल्टी बाँडिने गरिएको छ।

त्यसकै आधारमा अहिलेसम्म सर्जकले रोयल्टी पाउँदै आएका छन्। यस संस्थामा जति र जसले गीत दर्ता गराएका छन्। उनीहरू सबैले रोयल्टी पाउने व्यवस्था गरिएको प्रमुख एराकीले बताए। 

अघिल्लो वर्ष चार करोड २७ लाख रोयल्टी उठेको थियो। यसबाट १ करोड रोयल्टी संकलक समाजले सर्जकलाई बाँडेको थियो भने २ करोड १३ पर्फमर सोसाइटी र प्रोड्युसर सोसाइटीमा दिएको थियो।

असार १२, २०८० मंगलबार १५:३३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।