अनलाइनमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

अनलाइनमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

काठमाडौं : विभिन्न अनलाइन ग्याम्बलिङ र अनलाइन क्यासिनो गेमहरूमा बाजी राख्न लगाई सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कंलकी बस्ने २५ वर्षीय विबेक चौधरी छन्।

यस्तै, काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका–२ कुरिया घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन्।

राजा चौधरी समेतका व्यक्तिहरूले सट्टाबाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

असार १२, २०८० मंगलबार १४:३३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।