स्पष्टीकरणको जवाफ दिन्न : महानिर्देशक अधिकारी

स्पष्टीकरणको जवाफ दिन्न : महानिर्देशक अधिकारी

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अधिकारीलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।

महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनि लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ नदिने बताए।

उनले भने, ‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानून र तरिका होला नि!, फेसबुक भरी सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु।’

महानिर्देशक अधिकारीले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका विषयमा बिमती राखेकाले आफूलाई स्पष्टीकरण सोधिएको आरोप लगाएका छन्।

मन्त्री किरातीको गएको जेठ २६ गतेको मन्त्रीस्तरीय निर्णयद्वारा सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमति दिएका थिए।

महानिर्देशक अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ।

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीतिविरुद्ध काम गरेको र अभिव्यक्तिहरू दिइएको आरोप लगाइएको छ।

यस्तै सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै अधिकारीलाई सोधिएको छ।

असार १२, २०८० मंगलबार १४:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।