आफूमाथि बोतल प्रहार गर्नेलाई गायक सपुतले दिए माफी, उप्रान्त गल्ती नगर्ने युवकले गरे बाचा

आफूमाथि बोतल प्रहार गर्नेलाई गायक सपुतले दिए माफी, उप्रान्त गल्ती नगर्ने युवकले गरे बाचा

काठमाडौँः गायक प्रकाश सपुतमाथि बोतल प्रहार गर्ने युवकले माफी मागेका छन्। 

रोमानियामा स्टेजमा प्रस्तुति दिइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका थिए। उक्त बोतलले लागेर गायक सपुत सामान्य घाइते समेत भएका थिए। 

हिजो (सोमबार) आयोजकको रोहवरमा ती युवकलाई प्रकाश सपुतले माफी दिएका हुन्। युवकले अबदेखि यस्तो गल्ती नदोहोर्याउनेसमेत बताएका छन्। 

नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला दर्शकको भीडबाट सपुतको टाउकोमा बोतल हानिएको थियो।

तत्काल आयोजकले बोतल हान्ने युवकलाई नियन्त्रणमा लिएको थियो। तर गायक सपुतले उनलाई कुनै कारबाही नगर्न भनेका थिए। पछि गायक सपुतले ती युवकलाई भेट्न पुगेका थिए। भेटेर सपुतले उनलाई केहीबेर सम्झाएका थिए। 

ती युवक र गायक सपुतबीच भएको कुराकानीको भिडियोसमेत सार्वजनिक भएको छ। उक्त भिडियोमा बोतल प्रहार गर्ने युवकले माफी मागेको देखिन्छ। 

त्यस क्रममा ती युवकले आफूले रमाइलो गर्दागर्दै यस्तो दुर्घटना भएको बताएका छन्। आयोजकले भने आगामी दिनमा यस्तो गल्ती नहोस् भन्नका लागि आफूहरू सामान्य एक्सनमा जाने बताएको छ। 

आयोजकले ती युवकलाई तपाईं कतैबाट परिचालित हो भन्ने प्रश्न गरेका दिए। जवाफमा ती युवकले भने, 'साथीभाइहरू यस्तो गल्ती कसैले नगर्नुहोला, रमाइलो गर्दागर्दै यस्तो गल्ती भयो, यसको म धेरै माफी माग्न चाहन्छु।'

असार १२, २०८० मंगलबार ०७:५५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।