कमेडियन देवराज पटेलको सडक दुर्घटनामा मृत्यु
एजेन्सी : कमेडियन तथा युट्युबर देवराज पटेलको छत्तीसगढको राजधानी रायपुरमा सडक दुर्घटनामा मृत्यु भएको छ।
समाचार एजेन्सी एएनआईले प्रहरी अधिकारी मनोज ध्रुवलाई उद्धृत गर्दै उनको बाइकलाई ट्रकले ठक्कर दिएको बताएको छ। दुर्घटनामा देवराजका एक साथी पनि घाइते भएका छन्।
प्रहरी अधिकृत मनोजले भने, ‘अग्रसेन धाम सिग्नलको अलि अगाडि ट्रक दुर्घटनामा देवराज पटेलको मृत्यु भयो। उनीसँगै एकजना साथी पनि थिए। हामीले प्राप्त गरेको जानकारी अनुसार उनी केही भिडियो बनाएर आउँदै थिए र पछाडि बसेका थिए। उनलाई ट्रकले ठक्करले दिएको थियो।’
ट्रक चालकलाई नियन्त्रणमा लिइएको उनले बताए। ट्रक पनि प्रहरीको नियन्त्रणमा रहेको छ।प्रहरी अधिकृत मनोजले देवराजसँग उपस्थित उनका साथीलाई खासै चोटपटक नलागेको बताए।
छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले हास्य कलाकार देवराज पटेलको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले देवराजसँगको एउटा भिडियो पनि सेयर गरेका छन्।
मुख्यमन्त्री भूपेश बघेलले ट्वीटरमा लेखेका छन्, ‘दिल से बुरा लगता है’बाट करोडौं जनतामाझ आफ्नो स्थान बनाउने, हामी सबैलाई हँसाउने देवराज पटेलले आज हामीलाई छाडेर गएका छन्। सानै उमेरमा अद्भूत प्रतिभा गुमाउँदा दुखी छु।’
मिडिया रिपोर्टका अनुसार २२ वर्षीय देवराज पटेल आफ्नो भिडियो मार्फत छोटो समयमै निकै लोकप्रिय बनेका थिए। उनलाई सामाजिक सञ्जालमा ठूलो संख्यामा मानिसले फलो गरिरहेका छन्। इन्स्टाग्राममा उनका ५५ हजारभन्दा बढी फलोअर्स छन्।
उनले वेब सिरिज र डकुमेन्ट्री फिल्ममा पनि काम गरेका थिए।
असार ११, २०८० सोमबार २१:४२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।