'रक्सीका ब्राण्ड'हरू राखेर लागूऔषध विरुद्धको कार्यक्रम रेष्टुरेन्टमा

'रक्सीका ब्राण्ड'हरू राखेर लागूऔषध विरुद्धको कार्यक्रम रेष्टुरेन्टमा

मेचीनगर : लागूपदार्थ तथा तस्करीविरुद्धको दिवस पारेर देशभर यसबारे जनचेतनामूलक कार्यक्रम गरिन्छ। वर्षमा एक दिन भए पनि यो दिवसलाई औपचारिक रूपमा पूरा गर्ने धेरै हुन्छन्। 

तर दिनानुदिन लागूऔषध तस्करी र त्यसका प्रयोगकर्ता बढेको बढ्यै छन्। सीमा क्षेत्र थप जोखिममा रहेका छन्। लागूऔषध प्रयोगकर्ता अधिकांश युवा पुस्ताका नै हुने गरेका तथ्यांकले देखाउने गरेको छ।

प्रत्येक वर्षझैँ यसवर्ष पनि देशभर विभिन्न सामुदायिक संघसंस्था, सरकारी र गैरसरकारी संस्थाले यसविरुद्ध यो दिवस धुमधामका साथ मनाए। 

पछिल्लो समय पूर्वी नेपालको सीमा क्षेत्र काँकडभिट्टा, बाहुनडाँगी र भद्रपुरबाट अधिकांश लागूऔषध तस्करीमा संलग्नहरूलाई प्रहरीले पक्राउ पनि गरेको छ। तर खुला सीमा नाकाका कारण नियन्त्रण गर्न भने सहज भने देखिएको छ। 

नेपालीको बाक्लो उपस्थिति र आवतजावत हुने भारतीय बजार पानीट्यांकी र त्यसका आसपासका क्षेत्रमा खुलेआम लागूऔषध बिक्री वितरण हुँदा नियन्त्रणमा चुनौती थपिएको  स्वयं सुरक्षा निकाय बताउँछ । 

लागूऔषध नियन्त्रणका विषयमा सीमा क्षेत्र काँकडभिट्टामा प्रायः सन्देशमूलक कार्यक्रमहरू विभिन्न समयमा आयोजना हुँदै आएका छन्। तर ती कार्यक्रमको कुनै प्रभावकारिता भने देखिँदैन।

केही थान अतिथि बोलाएर बन्द कोठा र सभा हलमा भाषण मात्रै गरेको देखिन्छ। कहिले उनीहरूले विद्यार्थीको भेषमा तस्कर गरिरहेका छन् भने कहिले स्वयं डाक्टरको भेषमा समेत तस्करी भइरहेको पाइएको छ। 

तर बौद्धिक र लागूऔषध नियन्त्रणमा लागेका भनिएका व्यक्तिहरूले कोठे शैली र भाषणबाहेक ध्यान नदिनुले उनीहरूकै भूमिका शंकास्पद बन्ने गरेको छ। 

आज सोमबार पूर्वीनाका काँकडभिट्टामा लागूऔषध नियन्त्रणका विषयमा अन्तर्क्रिया कार्यक्रम कोठामै सीमित गरिएको छ।

कोशी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रम एक रेस्टुरेन्टमा गरिएको हो ।

जहाँ कार्यक्रमस्थलमा मादक पदार्थका ब्राण्डहरूको विज्ञापन गरिएको थियो भने त्यसमा विद्यार्थीहरूलाई विद्यालय पोसाकमै राखिएको थियो। यसअघि गरिएको कोठे कार्यक्रममै लागूऔषध सुरुवातमा मादक पदार्थबाट सुरु हुने यस क्षेत्रका विज्ञ वसन्त कुँवरले बताएका थिए।

कुँवरले दुई साताअघि मेचीननगरले आयोजना गरेको लागूऔषध नियन्त्रण विषयक कार्यशालामा यस्तो बताएका थिए।

आज त्यही तथ्यलाई बेवास्ता गर्दै प्रदेश सरकारले विद्यार्थी सहभागी गराई कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रम कुनै सभाहलमा नभई काँकरभिट्टास्थित ‘बोर्डरल्याण्ड क्याफे एण्ड बार’मा सम्पन्न गरेको थियो।

अन्तरक्रियामा प्रदेश सांसदसँगै स्थानीय तहका प्रमुख, सुरक्षाकर्मीहरू, विभिन्न संघसंस्थामा क्रियाशील व्यक्तित्व तथा कक्षा ८-९ मा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति थियो। जुन कार्यक्रम अन्य कुनै सार्वजनिक स्थानमा आयोजना हुनुपर्नेमा रेस्टुरेन्टमा आयोजना हुँदा सबै अचम्मित थिए।

आयोजक संस्थाले भने अन्य स्थानमा उपयुक्त हल नपाएकाले रेस्टुरेन्टमा गर्नुपरेको बहानाबाजी गरेको छ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ, सशस्त्र प्रहरी काँकडभिट्टाका प्रमुख निर्मल थापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख दीपक भारती लगायतले लागूऔषध नियन्त्रणका लागि आगामी कदमका विषयमा विभिन्न सुझाव राखेका थिए।

असार ११, २०८० सोमबार २०:१३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।