इमरान खानका कार्यकर्ताले मुख्यालय फुटाउँदा सेनाका लेफ्टिनेन्ट जनरलसहित तीन जना बर्खास्त

इमरान खानका कार्यकर्ताले मुख्यालय फुटाउँदा सेनाका लेफ्टिनेन्ट जनरलसहित तीन जना बर्खास्त

एजेन्सी : पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका कार्यकर्ताले सेनाको मुख्यालयमा आक्रमण गर्दा सेनाका लेफ्टिनेन्ट जनरलसहित तीन जना बर्खास्त भएका छन्।

इमरान खानलाई पक्राउ गरेपछि उनका कार्यकर्ताले गरेको आन्दोलन नियन्त्रण गर्न नसकेको र मुख्यालयको सुरक्षा गर्न नसकेको भन्दै लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारीलाई बर्खास्त गरिएको हो।

उनीहरू ९ मे मा सैन्य मुख्यालय र प्रतिष्ठानहरूको सुरक्षा जिम्मेवारी पाएका थिए। खानलाई सेनाले नियन्त्रणमा लिएपछि  त्यस दिन हिंसात्मक घटनाहरू भएका थिए।

सोही घटनाको विषयमा अनुसन्धानपछि कारबाही गरिएको प्रवक्ता मेजर जनरल अहमद शरीफ चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए।

यस्तै तीन मेजर जनरल र सात ब्रिगेडियरसहित १८ अधिकारीलाई अनुशासनात्मक कारबाहीसमेत गरिएको उनले बताए। अहमद शरीफले १०२ जना बदमाशमाथि सैन्य अदालतमा मुद्दा चलिरहेको समेत जानकारी गराए।

मे ९ मा, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी)ले भ्रष्टाचार आरोपमा इस्लामावाद उच्च अदालतबाट पक्राउ गरेको थियो।

इमरान खानको पार्टीले उनको गिरफ्तारीलाई ‘अपहरण’ भनेको छ। उनको गिरफ्तारीपछि पाकिस्तानका धेरै सहरमा हजारौं समर्थक सडकमा उत्रिएका थिए।

पीटीआई कार्यकर्ताहरू रावलपिंडीमा रहेको पाकिस्तानी सेनाको मुख्यालयको गेट नम्बर एकमा पुगेका थिए र गेट तोडेर भित्र पसेका थिए।

लाहोरमा इमरान खानका समर्थकहरू क्यान्टस्थित कोर्प्स कमाण्डरको घर नजिक पुगे र त्यहाँ पार्क गरिएका धेरै गाडीमा आगजनी गरेका थिए।

असार ११, २०८० सोमबार २०:१२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।