३०४ रनले हार्यो अमेरिका
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटमा जिम्बावेले अमेरिकालाई ३ सय ४ रनको फराकिलो अन्तरले हराएको छ।
जिम्बावेले दिएको ४ सय ९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको अमेरिका २५ ओभर १ बलमा १ सय ४ रनमा अलआउट भयो।
अमेरिकाका अभिशेक परदकरले सर्वाधिक २४ रन बनाए। बलिङतर्फ जिम्बावेका रिचार्ड नगरभा र सिकन्दर राजाले २र२ विकेट लिए।
यसअघि घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायो।
जिम्बावेका कप्तान सेन विलियम्सले १ सय ७४ रन बनाए। उनले १ सय १ बलमा २१ चौका र ५ छक्का प्रहार गरे।
यस्तै जोएलर्ड गुम्बीले ७८, सिकन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए। बलिङतर्फ अमेरिकाका अभिशेक परदकरले ३ र जेसी सिंहले २ विकेट लिए।
यो हारसँगै अमेरिका प्रतियोगितामा जितविहीन बनेको छ। अमेरिका ४ वटै खेलमा पराजित भएको हो। जिम्बावे भने प्रतियोगितामा अपराजित बन्यो।
असार ११, २०८० सोमबार १९:२०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।