भुटानी नक्कली शरणार्थीको दोस्रो चरणमा समातिए बुढाथोकी, सानु र केशवको सहयोगी देखियो

भुटानी नक्कली शरणार्थीको दोस्रो चरणमा समातिए बुढाथोकी, सानु र केशवको सहयोगी देखियो

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आशिष बुढाथोकीलाई पक्राउ गरेको हो।

काठमाडौँको गल्फुटारबाट पक्राउ परेका उनको खाता नक्कली भुटानी शरणार्थी बनाउनेक्रममा भएको लेनदेनमा प्रयोग भएको देखिएपछि पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेका बुढाथोकीको खातामा पीडितमध्ये एक जनाले नौ लाख ९९ हजार हालिदिएको र उनले सो रकम निकालेको देखिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके देखिएका केशव दुलाल र सानु भण्डारीसँग समेत उनको सम्बन्ध देखिएको कार्कीले उकेरालाई जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणको पहिलो चरणको अनुसन्धानमा १८ जना पक्राउ परेर थुनछेकको बहस समेत सकिइसकेको छ। पहिलो चरणमा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि थुनामा गएका छन् भने २ जनाको नाममा धरौट निस्किएको थियो।

काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

 न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टङ्क गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। 

असार ११, २०८० सोमबार १८:५८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।