नेपाललाई पराजित गरेको नेदरल्यान्ड्सले पायो ३७५ रनको विशाल लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत समूह ‘ए’को सोमबारको खेलमा वेस्ट इन्डिजले नेदरल्यान्डलाई ३७५ रनको लक्ष्य दिएको छ।
जिम्बावेको हरारेस्थित टाकासिङ्गा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनायो।
उसका लागि निकोलस पुरनले अविजित रहँदै १०४ रनको शतकीय पारी खेले। यस्तै, ब्रान्डन किंगले ७६ र जनसन चार्ल्सले ५४ रनको अर्धशतकीय पारी खेल्दा हप्तान साइ होपले ४७ र समार ब्रुक्सले २५ रन जोडे। उता किमो पलले पनि ४६ रनको अविजित पारी खेले।
नेदरल्यान्ड्सका साकिब जुल्फीकर र बस दी लीडेले समान दुई–दुई विकेट लिँदा भिभिएन किंग्मा र लोगान भान वीकले समान एक–एक विकेट लिए।
यसअघि भएका तीनमध्ये दुई खेलमा जित हात पारेको नेदरल्यान्डस् र तीनमध्ये दुई खेलमै जितेको वेस्ट इन्डिज यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेका छन्।
नेदरल्यान्ड्सले अमेरिका र नेपाललाई पराजित गरेर जिम्बावेसँग पराजित हुँदा वेस्ट इन्डिजले पनि नेपाल र अमेरिकालाई पराजित गर्दै आयोजक जिम्बावेसँग पराजित भएको थियो।
असार ११, २०८० सोमबार १६:५१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।