बढ्न थाल्यो अण्डाको मूल्य, किसानलाई राहत

बढ्न थाल्यो अण्डाको मूल्य, किसानलाई राहत

चितवनः अण्डाको मूल्य बढेसँगै किसानलाई फाइदा पुगेको छ। 

कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो।

बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को चार सय, मध्यम अण्डा तीन सय ८० र अझ ठूलोको चार सय १० रुपैयाँ कायम गरिएको छ।

अण्डाको मूल्य घट्दै गएर किसान विस्थापित हुन थालेपछि देशभरका ठूला व्यवसायी संगठित भएर नेपाल लेयर्स कुखुरापालक संघ गठन गरी बजारीकरणमा जुटेका छन्।

संघका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट चार सय ३५ पर्न आउँछ। अण्डाको मूल्य घट्दै गएर दुई सय ४० रुपैयाँसम्म झरेको थियो। उनले भने, 'पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रुपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो ६५ रुपैयाँ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन।'

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ। दुई वर्षअघि अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५ रुपैयाँ पुगेर एकोहोरो ओरालो लागेको थियो। 

असार ११, २०८० सोमबार ११:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।