बेथानचोकबारे शोधपत्र तयार गर्ने विद्यार्थीलाई १ लाख दिइने

बेथानचोकबारे शोधपत्र तयार गर्ने विद्यार्थीलाई १ लाख दिइने

काभ्रे : बेथानचोक गाउँपालिकाबारे स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीले प्रतिशोधपत्र १ लाख रुपैयाँ सहयोग पाउने भएका छन्।

देश विदेशसम्म गाउँपालिकाको प्रचारप्रसार गर्ने अपेक्षासहित यस्तो नीति ल्याइएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उक्त कार्यक्रम १३ औं गाउँसभाबाट सर्वसम्मत पारित भएको छ। त्यसैगरी, प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाभित्र पूर्वाधार विकासअन्तर्गत गाउँपालिकाभित्र कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।

दुर्लङखोला च्याम्राङवेसी सुरुङ मार्ग, बाघद्धार खोला बहुउद्देश्यीय ताल निर्माण, बेथानचोक एकीकृत शहरी विकास कार्यक्रमलगायत पूर्वाधार विकासका कार्यक्रम यस नीतिमा समावेश छन्।

कृषिलाई आधुनिकीकरण गर्न पशुमा कृत्रिम गर्भाधारणलाई निःशुल्क गरिने भएको छ। त्यस्तै, ६० वर्ष पुगेका नागरिकलाई निःशुल्क पूर्ण शरीर चेकजाँच गर्ने, महिलाले गाउँपालिकाबाहिरका अस्पतालमा गएर सुत्केरी गराउनुपर्ने अवस्था भए निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने,  मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणका लागि ४० वर्षमाथिका सबै नागरिकको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन्। 

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि एग्रो टुरिजम तथा इको टुरिजमको प्रवर्द्धन गर्ने नीति ल्याएको छ। बेथानचोकका धार्मिक, सांस्कृति तथा ऐतिहासिक वस्तुको संरक्षण तथा प्रवर्द्धनका लागि बेथानचोक म्युजियम स्थापना गर्ने, राष्ट्रिय तथा विदेशी शहरसँग भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास गर्ने, बेथानचोक नारायणस्थान जान निजी क्षेत्रको सहकार्यमा केबलकारको विकास गरिनेलगायत कार्यक्रम पर्यटन नीतितर्फ समावेश छन्। 

असार ११, २०८० सोमबार ०९:३०:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।