शासक बन्ने रहर : पशुपतिको जलहरीमा भण्डारीदेखि ओलीसम्मको नाम

शासक बन्ने रहर : पशुपतिको जलहरीमा भण्डारीदेखि ओलीसम्मको नाम

काठमाडौँ : पशुपतिनाथको मूल शिवलिङगमा लगाइएको जलहरीमा तत्कालीन राष्ट्रपति विद्या भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्मको नाम कुँदिएको भेटिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन जोख्न जलहरी निकालेपछि त्यसमा भण्डारी, ओलीसहित १३ जनाको नाम कुँदिएको खुलेको हो।

मूल मन्दिरको गर्भ गृहमा रहेको शिवलिङगको तल्लो भाग मोड्न जलहरी निर्माण गरिएको थियो।

मूल मन्दिर परिसरमा कुनै नयाँ निर्माण र पुनर्निर्माण गर्दा मुख्य व्यक्तिको शिलालेख वा प्रतिमा राख्ने गरिन्थ्यो। पशुपति मन्दिर परिसरमा तत्कालीन राजा अनि रानीहरूको टन्नै प्रतिमा देखिन्छ।

तर गर्भ गृहमै यसरी कसैको नामै राखेको भेटिएको यो पहिलो पटक भएको एक जानकारले बताए।

धार्मिक आस्था अनुसार मूल मन्दिरको शिवलिङग भट्टबाहेक अन्यले छुन पाउँदैनन्। गर्भ गृहमै मूल भट्ट र उनका सहयोगी भट्ट बाहेक अन्य जानै पाउँदैनन्।

उनीहरू सबै भारतीय नागरिक हुन्छन्।
मन्दिरको रेखदेख गर्ने, पूजा कार्यमा भट्टलाई सघाउने अनि भक्तजनको पूजा सामाग्री लिन राजराजभण्डारी हुन्छन्। यी सबै नेपाली नागरिक हुन्।

मूल शिवलिङको तल्लो भागमा सुनको जलहरी बेरिएकाले सो जलहरी भट्टले निकालेर दिए वा कर्मचारी छिरे खुलेको छैन।
जलहरी निकालेपछि मन्दिर परिसरमै जोखिएको थियो।

चाँदीको जलहरी बिग्रिएपछि मूर्तिमा तामाको जलहरी राखिएको थियो। तत्कालीन प्रधानमन्त्री ओली पशुपति दर्शनमा गएपछि सुनको जलहरी राख्न सरकारले सहयोग गर्ने भन्दै ३० करोड निकासा गराए।

पशुपति क्षेत्र विकास कोषले ५० करोड निकालेर ८० करोड लगानीमा एक सय ३ किलो सुन राष्ट्र बैङ्कबाट ल्याइएको थियो।

राष्ट्र बैङ्कबाट किनिएको  सुनमा करिब १० किलो हिनामिना भएको विवाद आएपछि लामो समय अख्तियारले वास्तै गरेको थिएन।
महालेखा परीक्षकको प्रतिवेदनमा समेत यो विषय उल्लेख गरियो। 

तै पनि अख्तियार मौन रह्यो। प्रतिनिधि सभामा ओलीलक्षित टिप्पणीपछि अख्तियार सक्रिय भएको थियो।

असार १०, २०८० आइतबार २३:१०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।