बालेनको बजेट : पूर्वाधारमा १३ अर्ब छुट्ट्याएर २ अर्ब मात्र खर्च गरे, प्रविधि भन्दै महानगर टिभीका लागि पाँच करोड खर्च गर्दै

बालेनको बजेट : पूर्वाधारमा १३ अर्ब छुट्ट्याएर २ अर्ब मात्र खर्च गरे, प्रविधि भन्दै महानगर टिभीका लागि पाँच करोड खर्च गर्दै

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि पूर्वाधारमा १३ अर्ब ७ करोड खर्च गर्न बजेट छुट्ट्याएको थियो। तर आर्थिक वर्षको अन्त्यसम्ममा महानगरले जम्मा २ अर्ब ८२ करोड मात्र खर्च गर्यो।

सामाजिक विकासका लागि ३ अर्ब ६८ करोड छुट्ट्याएको महानगरले जम्मा एक अर्ब ५६ करोड मात्र खर्च गरेको आइतबार सार्वजनिक आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय विवरणमा उल्लेख छ।

उपमेयर सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा उल्लेख भए अनुसार गत आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार महानगरले जम्मा ३१ प्रतिशत मात्रै खर्च गर्न सक्यो।

बजेटमा अपेक्षा अनुसार खर्च हुन नसक्नुमा सार्वजनिक खरिद प्रक्रिया, योजना छनौट र प्राथमिकिकरण, संस्थागत क्षमता, अन्तर तह तथा निकाय बिचको समन्वयमा कमी हुनुलाई कारणको रूपमा उल्लेख गरिएको छ।

महानगरले २२ अर्ब ५३ करोड खर्च गर्ने लक्ष्य राखेको थियो। तर सात अर्ब ९७ लाख मात्र खर्च भयो। उसले आन्तरिक आय, राजश्व लगायतका स्रोतबाट १० अर्ब ४१ करोड सङ्कलन गर्ने लक्ष्य राखेकोमा जम्मा आठ अर्ब ४४ करोड सङ्कलन गरेको थियो। स्रोत सङ्कलनको लक्ष्य ८१ प्रतिशत सफल भएको महानगर खर्चमा भने केवल ३१ प्रतिशतमै अड्किएको छ।

चालु आर्थिक वर्षका लागि अनुदानसहित महानगरले २५ अर्ब ४१ करोड आय हुने अनुमान गरेकोमा सरकारबाट प्राप्त हुने अनुदान बढ्दा २५ अर्ब ५८ करोड पुगेको थियो। आय बढे पनि सो अनुसार अत्यावश्यक क्षेत्रमा समेत महानगरले खर्च गर्न सकेको देखिएन। सबैभन्दा बिजोग त पूर्वाधार विकासमै देखियो।

महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड आम्दानी हुने प्रक्षेपण गरेको छ। बजेटमा महानगरले १० वटा विषयगत क्षेत्रमा गौरव आयोजना सञ्चालन गर्न भनेर तीन अर्ब ८० करोड रकम छुट्ट्याएको छ।

महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूका लागि २ अर्ब बजेट छुट्टाएको छ।

प्राथमिकता प्राप्त योजना अन्तर्गत वडाहरूमा तोकिएको सीमाको अधीनमा रहेर योजना र कार्यक्रम छनौट र कार्यान्वयनका लागि एक अर्ब ७६ करोड बजेट राखिएको छ।

शिक्षा क्षेत्रमा पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारका लागि ५० करोड विनियोजन गरिएको छ। सामुदायिक विद्यालयको शौन्दर्यकरणका लागि ५ करोड, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानी गर्न ३० करोडको छुट्टै शोधभर्ना कोषको व्यवस्था गरेको छ।

शिक्षा क्षेत्रमा महानगरको स्रोतबाट एक अर्ब ३२ करोड विनियोजन गरिएको छ।

महानगरले सुलभ स्वास्थ्य सेवाको सुरुवात गरिसकेको छ। निजी संस्थासँग सहकार्य गरेर अगाडि बढाउने रणनीति लिइएको सो योजनाका लागि महानगरले ३५ करोड बजेट छुट्टाएको छ। सुलभ फार्मेसीका लागि महानगरले ६ करोडको बजेट छुट्ट्याएको छ।

बालबालिकाको स्वास्थ्यका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँग सहकार्य गरेर नगर अस्पताल चलाउन १० करोड बजेट छुट्टाइएको छ। महानगरवासिका लागि स्वास्थ्य बिमा लगायतका कार्यक्रम ल्याउने दाबी गरे पनि बजेटमा देखिएन। महानगरले स्वास्थ्य क्षेत्रका लागि जम्मा ९२ करोड ६६ लाख बजेट छुट्टाएको छ।

महानगरले सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारका लागि सात अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। यसमा अधिकांश योजना सडक पेटी सुधार देखिन्छ। यसमा महानगरको सय वटा मुख्य चोकमा सडक बत्तीका लागि ३० करोड छुट्टाइएको छ।

मेयर बालेन्द्र शाहले महानगरको संस्कृति सम्पदाको संरक्षण र पर्यटन विकासमा जोड दिँदै आएका छन्। तर बजेट भने जम्मा २ अर्ब १३ करोड मात्र छुट्टाएका छन्।

वातावरण व्यवस्थापनमा ८७ करोड, सहरी यातायातमा १० करोड, कृषि क्षेत्रका लागि २ करोड ५० लाख, विपद् व्यवस्थापनमा सात करोड ५० लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ।

सूचना प्रविधि क्षेत्रमा ४० करोड छुट्टाइएको बजेटमा पाँच करोड त महानगर टेलिभिजनका लागि मात्रै छ। अन्यमा अनलाइन सेवा र सर्भिलेन्स क्यामरा जडान छन्। प्रविधि क्षेत्रमा नयाँ योजना केही छैन।

असार १०, २०८० आइतबार २१:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।