आईसीसी विश्वकप छनोट : श्रीलंका र स्कटल्यान्ड विजयी

आईसीसी विश्वकप छनोट : श्रीलंका र स्कटल्यान्ड विजयी

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’का आइतबारको खेलमा श्रीलंका र स्कटल्यान्ड विजयी भएका छन्।

श्रीलंकाले आयरल्याण्डमाथि १३३ रनको जित निकाल्दा स्कटल्यान्डले ओमानलाई ७६ रनले पराजित गर्यो।

जिम्बावेको बुलाभायोमा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले ४९.५ ओभरमा सबै विकेट गुमाएर ३२५ रन बनायो।

उसका लागि डिमुथ करुणरत्नेले १०३ रनको शतकीय पारी खेल्दा सडीरा समराविक्रमाले ८२ रन बनाए। यस्तै धनन्जय डी सिल्भाले ४२ अविजित रहँदै ४२ रन बनाए।

आयरल्याडका मार्क अडैरले चार तथा ब्यारी म्याकक्यार्थीले तीन विकेट लिए।

३२६ रनको जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्ड ३१ ओभरमै १९२ रनमा समेटियो। उसका कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। एक खेलाडीले पनि अर्धशतकीय पारी खेलेनन्।

श्रीलंकाका वानिन्दु हसरंगाले पाँच तथा महीश थिक्सानाले दुई विकेट लिए।

उता बुलाभयोमै भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको स्कटल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन जोड्यो।

उसका लागि ब्रेन्डोन म्याकमुलेनले १३६ रनको शतक बनाउँदा रिचे बेरिङ्गटनले ६० रनको अर्धशतकीय पारी खेले।
ओमानका बिलाल खानले पाँच र फैयाज बटले दुई विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको ओमान निर्धारित ५० ओभरमा ९ विकेटले क्षतिमा मात्र २४४ रनमा समेटियो।

उसका लागि नसीम खुसीले ६९ रनको अर्धशतकीय पारी खेले। अन्य खेलाडी खासै रन जोड्न सकेनन्।

बलिङमा स्कटल्यान्डका क्रिस ग्रियभले पाँच विकेट लिए।

असार १०, २०८० आइतबार २०:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।