पशुपतिको मूल मूर्तिको जलहरी जोख्न निकालियो, मन्दिरका मुलभट्ट पनि अनुसन्धानको घेरामा

पशुपतिको मूल मूर्तिको जलहरी जोख्न निकालियो, मन्दिरका मुलभट्ट पनि अनुसन्धानको घेरामा

काठमाडौँ : प्रयोग भएको दाबी गरिए अनुसारको तौल भए/नभएको हेर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मन्दिरको शिवालयमा रहेको जलहरी निकालेको छ।

मूल मूर्तिमा जडान भएको जलहरी जोख्न आयोगको टोलीले प्रहरी सहितको रोहवरमा जलहरी निकालेको हो।  मन्दिर परिसरमा जलहरी जोख्ने तयारी गरिएको हो।

जलहरीका लागि एक सय तीन किलो सुनको प्रयोग गरेको दाबी गरिए पनि ९३ किलो सुन मात्र प्रयोग गरेको दाबी सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो। यसबारे महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा समेत प्रश्न उठेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पालामा चाँदीको ठाउँमा सुनको जलहरी राखिएको थियो।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७ सय ७३ ग्राम सुन रु ८० करोड १ सय ११ हजारमा किनेको थियो। जलहरी बनाउन केही दाताहरूले समेत सुन दान गरेका थिए। त्यसको हिसाब समेत पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको छैन।

यो प्रकरणमा पशुपति मन्दिरका मूल भट्ट समेत जोडिएको अख्तियार स्रोतले जानकारी दियो। स्रोतका अनुसार दाताबाट आएको सुनबारे कोषका अधिकारीले सो सुन मुलभट्टले लगेको दाबी आएपछि उनी पनि अनुसन्धानमा तानिएका हुन्।

असार १०, २०८० आइतबार २०:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।