महानगरले बन्द गर्यो डा. कर्टको क्लिनिक, अबैध भएको दाबी
काठमाडौं : काठमाडौं महानगरपालिकाले डा. कर्टको रूपमा चिनिएका दिलजान मन्सुरको क्लिनिक बन्द गरिदिएको छ।
मापदण्डअनुरूप सञ्चालन नभएका कारण आइतबारबाट क्लिनिक बन्द गरिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले उकेरालाई जानकारी दिए।
उनका अनुसार उक्त क्लिनिक दर्ता नभएको र डा.कर्टले पढेको भन्दा बाहिरको विधामा गएर उपचार गराएको कारण बन्द गरिएको हो।
‘हामीले मुख्यतः तीन कारणले उक्त क्लिनिक बन्द गर्यौं,’ उनले भने, ‘पहिलो त दर्तै थिएन, दोस्रो भनेको त्यहाँ जो डाक्टर हुनुहुन्छ दिलजान मन्सुर उहाँले पढ्नुभाको इन्टरनल मेडिसिन रैछ तर उहाँले डाइटिसियनको काम गरिरहनुभएको देखियो, तेस्रो कारण भने त्यहाँ गएर उपचार गराएका पीडितहरूबाट गुनासो आयो।’
प्रमुख पौडेलले मापदण्डभित्र आएपछि मात्र उक्त क्लिनिक खुल्न दिने वा नदिने भन्नेबारे महानगरले निर्णय गर्ने बताए।
डा. मन्सुरले क्लिनिकबाट लो कार्ब डाइटको विषयमा बिरामीलाई परामर्श दिँदै आएका थिए। त्यहाँ उपचार सुरु गर्दा सुुरुमै १० हजार रुपैयाँ तिर्नुपर्ने थियो।
असार १०, २०८० आइतबार १९:०५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।