बेडसिन ब्लर गरिएको फिल्म ‘परस्त्री’ को चार चुनौती
काठमाडौँ : निर्माण टिमले दर्शकलाई आकर्षित गर्न अनेक फण्डा गरे पनि हलमा दर्शक फर्किएका छैनन्। भारतमा निर्मित फिल्म आदिपुरुषबारे विवाद हुँदा प्रदर्शन हुन सकेन। तर त्यसको फाइदा नेपाली फिल्मले लिनै सकेन।
शुक्रवारबाट अन्तिम संस्कार फिल्म रिलिज त भयो तर दर्शकलाई हलसम्म तान्न सकेन। विजय लामासहितको फिल्म निर्माण टिमले दर्शकसम्म फिल्म पूर्याउन गरेको मिहेनतले काम गरेन।
जब हलमा फिल्म लाग्यो हलसम्म पुगेका दर्शकको’ओभर एक्टिङको भण्डार’ को प्रतिक्रियाले दर्शक झन् बिच्किए। नयाँ हिन्दी फिल्म रिलिज नभए पनि हलका कर्मचारी हाई काढेर बस्न बाध्य भए।
अर्को शुक्रवारबाट उस्तै हल्ला गरिएको इरोटिक सस्पेन्स जनाराको फिल्म परस्त्री रिलिज हुँदैछ। फिल्मको फस्ट लुक सार्वजनिक भएदेखि नै दर्शकमाझ एक प्रकारको कौतुहलता देखिएको छ यो फिल्ममा। तर ट्रेलर त्यति आकर्षक नहुँदा हल्ला गरेर दर्शक झुक्क्याउन खोजेको त हैन भन्ने शङ्का पनि बढाएको छ।
फिल्ममा राखेको इरोटिक सिनले पनि फिल्मको हल्का हाइप बढायो। सेन्सर बोर्डले फिल्म पास गरिदिएन। फिल्मका केही दृश्य छोटो बनाउन अनि केही दृश्य त ब्लर गर्न निर्देशन दिएपछि निर्माण टिमले त्यही गर्यो। अनि गत शुक्रवार यसको सेन्सर पास भयो। पिजी सर्टिफिकेट पायो।
फिल्मका कलाकारले दर्शकमाझ आफ्नो उम्दा छवि निर्माण गरिसकेका छैनन्। हलिउड छाडेर नेपाल आएकी नायिका भनेर शिल्पाको प्रचार गरिएको छ। तर उनका यस अगाडिका फिल्मको अभिनय सम्झने हो भने दर्शक यति भनेरै भरमा हलमा पुग्ने सम्भावना देखिन्न।
फिल्मका लेखक दीपेन्द्र के खनाल हुन्। उनी फिल्म निर्माणमा सहकार्य पनि गरेकाले पक्कै झुर फिल्म लेखेनन् होला भनेर अनुमान गर्न सकिन्छ तर ढुक्क हुन सकिन्न।
उनी निर्माणमा समेत संलग्न भएर पनि आफैँले फिल्म निर्देशन नगरी किन नयाँ निर्देशकलाई स्वीकार गरे त्यसको उत्तर फिल्मले पक्कै दिनु नै पर्छ।
फिल्म हिन्दीमा समेत डब गराएर भारतमा समेत प्रदर्शन गर्ने तयारी गरिएको छ। तर यसले भारतमा पनि रिलिज गर्ने भनेर प्रेम गीत-२ ले निर्माण गरेको उत्सुकता निर्माण गर्न सकेको छैन।
यसको कारण भारतमा रिलिज गर्ने भनेर हल्ला गरे पनि अनि फिल्म रिलिज भए पनि झुर पनि हुने रहेछ भन्ने दर्शकलाई परेको हुनसक्छ।
प्रेम गीतले पुरै बाहुबलीको फ्लप फ्लेभर कपी गर्दा माथ खायो। यसले कतै मर्डर अनि मर्डर-२ को कपी गरेको त छैन? केही दृश्यले शङ्का बढाएको छ।
विवाहेत्तर सम्बन्धमा आधारित कथा रहेको भनिएको यो फिल्मको सबैभन्दा ठुलो चुनौती नै झुर नेपाली फिल्मका कारण बिच्किएका दर्शकलाई हलसम्म ल्याउनु हो। दोस्रो चुनौती प्रचार गरिएजस्तै अब्बल फिल्म हुनु हो।
फिल्म अब्बल बनेको भए पनि दर्शक नआए फ्लप हुने पक्का छ। दर्शक आए तर फिल्म दाबी गरे जस्तो अब्बल नभई एभरेज रहेछ भने यसपछि रिलिजको तयारीमा रहेको फिल्मले थप आर्थिक क्षति बेहोर्ने पक्का छ।
असार १०, २०८० आइतबार १८:३६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।