पोखरा महानगरको नीतिमा ड्रागन बोट रेसदेखि प्लास्टिकको बोतल हटाएर जग प्रयोग गर्नेसम्मका कार्यक्रम

पोखरा महानगरको नीतिमा ड्रागन बोट रेसदेखि प्लास्टिकको बोतल हटाएर जग प्रयोग गर्नेसम्मका कार्यक्रम

पोखरा : पोखरा महानगरपालिकाले कोरियाली विकास नियोगको सहयोगमा ६ अर्बको लगानीमा हरित यातायात प्रणाली विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महानगर प्रमुख धनराज आचार्यले आइतबार पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि पोखरा ३३ उपल्लो पुँडिटारमा अत्याधुनिक प्रविधिमा आधारित फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख छ।

यसैगरि जापानी सहयोग नियोगको सहयोगमा चार वर्षभित्र सम्पन्न गर्ने गरी ११ अर्बमा ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाका लागि डिजिटल डिजाइन सम्पन्न भएको र परियोजना सुरु हुने चरणमा रहेको कार्यक्रममा उल्लेख छ।

४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिकको झोलाहरूको प्रयोगलाई पूर्ण प्रतिबन्ध गर्ने सरकारको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, कार्यालयमा प्लास्टिकको पानीको बोतल प्रयोग नगरी जग र ग्लासको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

२०८१/०८२ भित्र दुई लाख वृक्षारोपण गरी क्लिन पोखरा, ग्रिन पोखरा परियोजना सञ्चालन गर्ने, पोखराको लेकसाइडलाई २४ सैँ घण्टा खुला गर्न पहल गरिने, बेगनास सहितका तालहरूमा सम्भाव्य अध्ययनको आधारमा वाटर स्पोर्ट्सका कार्यक्रमहरू अगाडि बढाउने उनले सार्वजनिक गरे।

साहसिक पर्यटक र ट्रेकिङलाई प्रभावकारी बनाउन छिमेकी पालिकाहरूसँग सहकार्य गरिने, फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्ने आगामी नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरि रोपाई महोत्सव, स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस फेस्टिभल, फुड फेस्टिभल, कोसेली घर, हेमजा कृषि महोत्सव, लेखनाथ महोत्सव, पोखरा महोत्सव अनि प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

असार १०, २०८० आइतबार १७:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।