३५ वटा एम्बुलेन्स किनेर स्थानीय तहलाई बाँड्दै काठमाडौँ महानगर, ७ करोड बजेट विनियोजन

३५ वटा एम्बुलेन्स किनेर स्थानीय तहलाई बाँड्दै काठमाडौँ महानगर, ७ करोड बजेट विनियोजन

काठमाडौंः काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स खरिद गर्ने योजना अघि सारेको छ। 

महानगरले आज प्रस्तुत गरेको बजेटमा यसका लागि ७ करोड रुपैयाँ विनियोजन पनि गरिएको बताएको छ।

नेपालका विभिन्न गाउँपालिकाहरूका लागि मागका आधारमा उक्त संख्यामा एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने महानगरले बताएको छ। 

आज प्रस्तुत महानगरको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समग्र स्वास्थ्य कार्यक्रमतर्फ कुल ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरिएको छ। 

महानगरपालिकाको नगर सभाको बैठकमा आइतबार उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डंगोलले बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्। 

महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीहरूका लागि ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजनामार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ३५ करोड रकम विनियोजन गरिएको छ।  

त्यसैगरी महानगरवासीलाई सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन भन्दै ‘सुलभ फार्मेसी’को स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) सञ्चालन गर्न १ करोड ४४ लाख बजेट विनियोजन भएको छ। 

महानगरभित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरूलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि ३ करोड ५० लाख रकम विनियोजन भएको छ। 

ध्यान, योग, व्यायाम, वैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्धितका माध्यमबाट आरोग्य जीवनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ। 

बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसँगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउन १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ।

असार १०, २०८० आइतबार १६:४८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।