बल्ल पाए इन्द्रजितका चारै दाजुभाइले नागरिकता

बल्ल पाए इन्द्रजितका चारै दाजुभाइले नागरिकता

धनुषाः नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले नागरिकता पाएका छन्। 

उनीसँगै उनका चार दाजुभाइले नै नागरिकता प्राप्त गरेका हुन्। 

नागरिकता लिन संघर्ष गरिरहेका इन्द्रजितका दाजुभाइले जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशजका आधारमा नागरिकता लिएका हुन्। 

गणेशमान चारनाथ नगरपालिका-४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाए। इन्द्रजित, उनका माहिला भाइ २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छा भाइ २१ का रविन साफीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता पाएका हुन्। 

उनीहरूलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरे। 

बुवा बुबा विक्रम धोवीको नागरिकता जन्मसिद्ध भएका कारण उनले नागरिकता पाउन सकेका थिएनन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि उनीहरूले नागरिकता लिएका हुन्। 

साहुसँग पाँच लाख रुपैयाँ ऋण लिएर इन्जिनियरिङ अध्ययन पूरा गरेका उनले पछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम शुरु गरेका थिए।

आन्दोलनका क्रममा साफी। तस्वीर सौजन्यः न्युजमधेश डटकम

तर केही समयमा उनीसँग नागरिकता मागिएको थियो। नागरिकता पेश गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुपरेको थियो। नागरिकता नभएकै कारण उनका चारै भाइले मानसिक रूपमा तनावमा थिए। उनीहरूले सामान्य रोजगारीसमेत पाउन सकेका थिएनन्। तर आज नागरिकता लिएसँगै उनीहरू खुसी देखिएका थिए। 

नागरिकता पाएपछि इन्द्रजितले भने, 'बल्ल यो देशको नागरिक भएको अनुभूति भएको छ।'

असार १०, २०८० आइतबार १६:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।