मासु पसलेलाई अनुगमन टोलीले सोधे : खसीको मासु बेचेको भए अण्डकोष खोइ ?

मासु पसलेलाई अनुगमन टोलीले सोधे : खसीको मासु बेचेको भए अण्डकोष खोइ ?

बर्दियामा खसीको मासु भन्दै बाख्राको मासु बिक्री हुने गरेको पाइएको छ। 

जिल्लाका आठ वटै स्थानीय तहका बजारहरूमा खसीको मासु भन्दै बाख्राको बेचिएको भन्दै गुनासो आएपछि अनुगमन भएको हो। 

खसीको मासु भन्दै उपभोक्तालाई ठगी गरेको पाइएपछि ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बजारबाट शेरअली कुरेसी पक्राउ परेका छन्। कुरेसीले खसीको भन्दै बाख्राको मासु बेच्दै आएका थिए। उनको पसलबाट १६ किलो मासु जफत गरी नष्टसमेत गरिएको छ। 

मासु पसल सञ्चालक कुरेसीलाई १० देखि २० हजार रुपैँयासम्म न्यूनतम जरिवना हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए।

बिहानै बाख्रा काटेर खसीको मासु भनेर पसलमा बेच्न लैजान तयार बनाइरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो। उनले खसीको मासु भनेर दाबी गर्दै थिए, अनुगमन टोलीले खसी हो भने अण्डकोष खोइ ? भनेर प्रश्न गर्दा बाख्राको छालाभित्र बोसो भरेर डल्लो बनाएर देखाउन थालेपछि प्रमाण फेला परेको उद्योग वाणिज्य संघ ठाकुरबाबाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए। 

यस्तै अर्का मासु पसल सञ्चालक दिनेश विकले पनि दिनेश भाइ समीक्षा फ्रेस हाउसमा खसीको मासु र बाख्राको मासु आफूले बेच्ने गरेको स्वीकार गरेका छन्। विकले सरसफाइमा ध्यान नदिएको र बाख्राको मासु पनि पाइन्छ भनेर खुलस्त नपारेको, खसीको मासु र बाख्राको मासुको मूल्यसूची नटाँसेकोले पहिलो पटकका लागि सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

विषेशगरी चाडपर्वको समयमा खसीको मासु अत्यधिक बिक्री हुने गरेको मौकाको फाइदा उठाउँदै मिसावट हुने गरेको छ। मासु काट्नुभन्दा पहिले पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, काटेको मासु चिस्यान ‘डीप फ्रिज’ मा राखेर मात्र बिक्री गर्न पाइने कानुनी व्यवस्था छ।

उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने मासु पसल सञ्चालकलाई कडा कारबाही हुनुपर्ने स्थानीयको माग छ।

असार १०, २०८० आइतबार १५:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।