बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको कुनै औचित्य छैन : रमेश लेखक

बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको कुनै औचित्य छैन : रमेश लेखक

काठमाडौं : नेपाल कांग्रेसका सांसद रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सदनमा उठेका विषयलाई सरकारले स्वामित्वकरण गर्न नसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको धारणा राखे।

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिंदै  लेखकले बजेटमा संशोधन हुँदैन भन्ने कुरा विगतदेखिकै कार्यशैलीबाट स्थापित हुँदै गएको र प्रतिनिधिसभा नियमावलीले पनि त्यसलाई अनुमोदन गरेको बताए।

‘विनियोजन विधेयकका सन्दर्भमा हामीले यो संशोधन हुँदैन भन्ने धारणा बनाएका छौं। बजेटमा संशोधन हुँदैन भन्ने कुरा हामीले प्रतिनिधिसभा नियमावलीमा पनि राख्यौं,’ उनले भने

‘अरू विधेयकहरु सदनमा प्रवेश हुने, छलफल हुने, संशोधन हुने र ऐन बन्ने भनेर छुट्टै व्यवस्था गरिएको छ। त्यस्ता विधेयकमा संशोधन नै भन्ने शब्दावली राखिएको छ। तर विनियोजन विधेयकको हकमा हामीले संशोधन भनेर कतै भनेका छैनौं। त्यसमा खर्च कटौतीको प्रस्ताव भनिएको छ। यसकारण संशोधन भएर पनि जानसक्छ भन्ने धारणा नै फरक रह्यो,’ उनले थपे।

विनियोजन विधेयकमा संशोधन नगर्ने हो भने यसरी मन्त्रालय छलफल गर्नुको औचित्य के हो भन्ने प्रश्न सदनभित्र र सदन बाहिर दुवैतिर उठिरहेको पनि उनले बताए।

बजेटका सन्दर्भमा सदनको भूमिका निर्धारण गरिनुपर्ने र बजेटमा पनि संसदले भूमिका खोज्ने गरी आधार तयार पार्न सकिने उनले उल्लेख गरे।

असार १०, २०८० आइतबार १३:५४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।