नेपालकी सांसद सोविता गौतम वन योङ पोलिटिसियन अफ दी इयरको सर्टलिस्टमा

नेपालकी सांसद सोविता गौतम वन योङ पोलिटिसियन अफ दी इयरको सर्टलिस्टमा

बेलायतको एक संस्थाले वन योङ पोलिटिसियन अफ दी इयर अवार्डका लागि नेपालकी सांसद सोविता गौतमलाई पनि सर्ट लिस्टमा राखेको छ। 

जसमा विश्वका प्रभावशाली १५ जना युवा राजनीतिज्ञको नाम सर्टलिस्ट गरिएको छ। गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुन्। 

उक्त संस्थाले राजनीतिमा गरेको उल्लेखनीय प्रभावका आधारमा १५ जनाको नाम समावेश गरेको जनाएको छ। यसबाट वर्ष २०२३ का लागि पाँच जना छानिने उसले जनाएको छ। 

विश्वव्यापी रूपमा केवल २ प्रतिशत सांसदहरू ३० वर्षमुनिका रहेका उसको अध्ययनले भनेको छ। त्यस्तै १४ प्रतिशत ४० वर्षभन्दा मुनिका रहेका पनि जनाइएको छ।

प्रतिनिधित्वको यो अभावले सम्पूर्ण पुस्तालाई आफ्नो राष्ट्रको राजनीतिक प्रक्रियाबाट अलग्याउने ठूलो जोखिम हुने वन योङ वर्ल्डले लेखेको छ। वन योङ पोलिटिसियन अफ दी इयर अवार्डमा संसारभरका १८ देखि ३५ वर्षसम्मका राजनीतिज्ञहरूलाई सहभागी गराइएको छ।   

विजेताहरूलाई तिनीहरूको गृह देशहरूमा परेको प्रभाव र विशेष गरी युवालाई फाइदा पुर्याउन उनीहरूले कसरी काम गरिरहेका छन् भन्ने आधारमा चयन गरिने जनाइएको छ। 

युवा राजनीतिज्ञहरूको कामलाई मान्यता दिने यो पहिलो विश्वव्यापी अवार्ड भएको उसले दाबी गरेको छ र राजनीतिमा युवा सहभागिताको न्यून स्तरविरुद्ध लड्न सुरु गरिएको जनाएको छ। 

उक्त १५ जनाको सर्टलिस्टमा गौतमका अलावा अमेरिका, बेलायत, अष्ट्रेलिया, अर्जेन्टिना, आयरल्याण्ड, जाम्बिया, मेक्सिको, स्पेनलगायत देशहरूका छन्। १५ जनाको सूचीमा ९ जना महिला रहेका छन्। 

विजेताहरूको नाम जुलाईमा घोषणा गरिने र वन योङ विश्व सम्मेलनमा २०२३ बाट उनीहरूलाई पुरस्कृत गरिने संस्थाले बताएको छ। 

असार १०, २०८० आइतबार १३:०९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।