राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिंदैन, जनताले तिरेको करको दुरुपयोग मात्र हो : सांसद पन्त

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिंदैन, जनताले तिरेको करको दुरुपयोग मात्र हो : सांसद पन्त

काठमाडौं : एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग मात्र भएको बताए।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन्।

‘हाम्रोमा राष्ट्रपतिलाई सुरुदेखि नै सल्लाहकार दिंदै आयौं। भारतमा १५ जना राष्ट्रपति भए। तर अहिलेसम्म सल्लाहकार राखेको छैन,’ उनले भने, ‘अहिले कानुन हेर्दा राष्ट्रपतिका लागि ७ जना र उपराष्ट्रपतिका लागि ५ जना सल्लाहकार राख्ने प्रावधान छ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग भएको बताए।

‘मैले एक महिना जति भयो पढेको उपराष्ट्रपतिजीले विदेशमा सल्लाह दिने सल्लाहकार राख्नुभएछ, बडा गजब छ, उपराष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिन के आवश्यक पर्छ? राष्ट्रपतिलाई पनि पर्दैन। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद हो। उपराष्ट्रपति पदेन राष्ट्रियसभाको अध्यक्ष हुनुपर्छ,’ उनले थपे।

असार १०, २०८० आइतबार १२:१४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।