भन्सार नीतिले सुक्न थाल्यो भारतको सीमावर्ती बजार, कार्यान्वयन नगर्न नेपालसँग गुहार

भन्सार नीतिले सुक्न थाल्यो भारतको सीमावर्ती बजार, कार्यान्वयन नगर्न नेपालसँग गुहार

बुटवल : देशकै दोस्रो ठूलो भारतीय सीमा नाका बेलहियाबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि अहिले देशको राजश्व वृद्धि हुन थालेको छ।

भन्सार तिर्नुपर्ने नियमले सीमा नाका बेलहियामा पहिलेको तुलनामा कम चहलपहल भइरहेको छ भने बजार गएकाहरूले पनि अनिवार्य भन्सार तिर्नुपर्दा उपभोक्ताबाटै दैनिक लाखौँ रुपैयाँ राजश्व संकलन हुन थालेको छ। 

नेपाली बजारलाई चलायमान बनाउन सीमावर्ती बजारमा भन्सार नीति कडा गर्नुपर्ने आवाज व्यावसायिक संघ संस्थाले उठाउँदै आएका थिए। यतिबेला रुपन्देहीका व्यापारी खुसी भएका छन भने देशको ढुकुटी पनि बढेको छ। 

भन्सार नीति कार्यान्वन नहुँदा भीडभाड हुने सुनौली, नौतनहवा बजार सुनसान थिए। भारतीय व्यापारीहरू भने भन्सार नीति कार्यान्वयन नगराउने चलखेलमा समेत लागेका थिए। खासगरी सीमा बजार बेलहिया, नौतनहवाका ९५ प्रतिशत ग्राहक नेपाली हुन्।

तर भन्सार नीति कार्यान्वयन नगराउन भारतीय व्यापारीहरूले नेपालका लागि भारतीय राजदूतमार्फत नेपाल सरकारलाई लबिङ गरिरहेका स्रोतले बताएको छ। त्यति मात्र होइन उनीहरूले भन्सार नाका नै ठप्प गर्ने चेतावनीसमेत दिएका छन्। 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्सार नीति कार्यान्वयनबाट अब पछि नहट्ने बताए। उनले उपभोक्ताबाट राजश्व लिने उद्देश्यभन्दा पनि नेपाली बजारमा उपभोक्ताले किनमेल गर्ने प्रवृत्तिलाई बढावा दिन नीति कार्यान्वयनमा लिएको बताए। 

‘उपभोक्ताले पहिले र अहिले तिर्ने भन्सारमा धेरै ठूलो फरक छ। तर त्यो मात्र हाम्रो लागि उपलब्धि होइन। नेपाली उपभोक्ताले नेपाली बजारमै किनमेल गरून् भन्ने हो। त्यसैले जो जहाँ पुगेर लबिङ नै गरे पनि यो कार्यान्वयनबाट हामी पछि हट्दैनौँ’, उनले भने। 

भैरहवा भन्सार कार्यालयका अनुसार भारतबाट किनमेल गरेर फर्किनेहरूबाट अहिले दैनिक २ देखि ३ लाख रुपैयाँसम्म राजश्व संकलन भइरहेको छ। भन्सार नीति कार्यान्वयन नहुँदा २० हजार रुपैयाँ पनि यस्तो राजस्व संकलन हुने गरेको थिएन। 

नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले नाकामा कडाइ हुँदा यसले सरकार र नेपाली व्यवसाय सबैलाई फाइदा पुगेको बताए। नीति कार्यान्वयन गर्न सरकारले कुनै पनि बहाना नबनाउन पनि आग्रह गरे। 

हालै भारतीय व्यापारीहरूले सीमा नाका बन्द गर्ने चेतावनी दिएको तर्फ इंगित गर्दै उनले सरकारले आफ्नो नीति कार्यान्वयन गर्दा कसैसँग पनि डराउनुनपर्ने बताए। ‘अहिले केही अप्ठयारो सुरुमा आउन सक्छ। तर सरकार डराउनु हुँदैन’, उनले भने। 

प्रज्ञापनपत्र भर्ने बढे

गत जेठ १६ गतेदेखि भैरहवा भन्सार कार्यालयले एक सय रुपैयाँभन्दा बढीको समान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्था कार्यान्वयन ल्याएको हो। त्यसपछि भन्सारमा प्रज्ञापन पत्र भर्नेको संख्या पनि ह्वात्तै बढेको छ। 

भन्सार कार्यालय प्रमुख मणिराम पौडेलले भन्सार नीतिमा कडाइ गरेकाले स्थानीयले स्वःस्फूर्त रूपमा प्रज्ञापन पत्र भरिरहेका बताए। अहिले भन्सार नाकाबाट कुनै पनि सर्वसाधरणलाई प्रज्ञापनपत्र नभरी घरायसी वा अन्य कुनै प्रयोजनका समान नेपाल ल्याउन नदिएको र त्यही कारण प्रज्ञापन पत्र भर्नेहरूको संख्या बढेको उनले बताए। 

उनका अनुसार जेठ १६ देखि जेठ मसान्त सम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन। नीति कार्यान्वन नहुँदा जेठ १ गते देखि १५ गतेसम्म जम्मा ३ सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए। 

गत वर्षको जेठमा ३ सय ६ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएका थिए। तर २०८० वैशाखमा भने १ हजार १ सय ८३ जनाले मात्र प्रज्ञापन पत्र भरेर सामान ल्याएका भन्सार कार्यालयको तथ्यांकमा छ। 

साना नाकाबाट भने सहज रुपमा भित्रिँदै सामान

रुपन्देहीको बेलहिया नाकामा कडाइ गरिएपछि अहिले उपभोक्ताहरू अन्य साना नाकातर्फ केन्द्रित हुन थालेका छन्। अन्य नाकामा पनि कडाइ गरिएको बताइए पनि खुला सीमाका कारण सबै ठाउँमा रोक्न असम्भवप्रायः छ। त्यही खुला नाकाको फाइदा उठाउँदै उपभोक्ताहरूले विनाभन्सार नै सामान ल्याउने गरेका छन्। 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले साना नाकाहरूमा पनि कडाइ गर्नेतर्फ सरकारले अझै आवश्यक कदम बढाउनुपर्ने बताए।

‘मुख्य नाकालाई मात्र टार्गेट गरेर हुँदैन। अन्य खुला नाकाबाट पोके व्यापारी र उपभोक्तालाई पनि नियन्त्रण गरे मात्र मुख्य नाकामा कडाइ गरेको सार्थक हुन्छ’, श्रेष्ठले भने। 

अहिले पनि उपभोक्ता र पोके व्यापारीहरूले कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई नाका त्यस्तै सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायत नाकाबाट निर्वाध सामान ल्याइरहेका छन्। यी साना नाकाबाट सामान ल्याउँदा कतिपयले प्रहरीलाई नै ‘सहयोगी’ बनाएका आरोप लाग्ने गरेको छ। 

भारतीय बजारबाट किनमेल गरेर फर्किँदै नेपाली

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरतबहादुर विकले मुख्य नाकामा मात्र नभइ अन्य साना नाकामा पनि प्रहरीले चेकजाँचलाई कडाइ गरेको बताए। 

विकले यसो भनिरहे पनि अन्य साना नाकाबाट तस्करी भने बढिरहेको प्रहरीले नै सार्वजनिक गरेको विवरणले पुष्टि गर्छ। 

जेठ २२ गते रुपन्देही भारतबाट भन्सार छली ल्याएको ११ लाख ४७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो। प्रहरीले काठको ढोका ५ वटा, पेन्ट (कलर) ३ बाल्टी (५० लिटर) र टायल ४० पेटीसहित ७ लाख ७ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद भएको थियो भने सिद्धार्थनगर नगरपालिका आवारोडबाट ४ लाख ४० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको थियो।

जेठ २५ गते रुपन्देही प्रहरीले भारतीय बजारबाट भन्सार छली गरी ल्याइएका विभिन्न कम्पनीका ८ लाख ३० हजार रुपैयाँ बराबरका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको थियो। 

जेठ २८ गते मात्र प्रहरीले भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको थियो। 

त्यस्तै जेठ मसान्तमा मात्र अवैध रुपमा भन्सार छलेर ल्याएको ७ लाख बराबरको ८५ पेटी टायल र मल गरी १४ लाख ९६ हजार ७ सय रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको थियो।

असार १०, २०८० आइतबार १०:३०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।