प्रतियोगिताबाट बाहिरिएपछि कप्तान किरण भन्छन्– खेलाडीले गर्व गर्नलायक खेले
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलाडीहरू गर्व गर्नलायक खेलेको बताएका छन्।
साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि बोल्दै कप्तान चेम्जोङले प्रतियोगिताबाट बाहिरिँदा दुःख लागे पनि अनुभवी टिमसँग आफ्ना खेलाडीहरुले गर्व गर्नलायक खेल देखाएको बताए।
‘प्रतियोगिताबाट बाहिरिँदा दुःख लागेको छ तर हाम्रा खेलाडीहरूको खेलप्रति गर्व गर्छु,’ उनले भने, ‘हामीसँग एकदमै युवा टोली छ। त्यसमा केहीले त पहिलो पटक डेब्यु गरेका छन्। उनीहरूले अनुभवी टोलीसँग फाइट गरे।’
शनिबारको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले दुई गोल गरेको थियो। खेलको ६१औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दा ६८ औं मिनेटमा महेश सिंहले नेपालविरुद्ध गोल गरे।
यसअघि नेपाल आमन्त्रित टोली कुवेतविरुद्ध पराजित भएको थियो। दुई खेलमा पराजित भएसँगै नेपालका लागि सोमबार हुने पाकिस्तानसँगको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
असार ९, २०८० शनिबार २१:५४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।