सिक्किमको रानी होप कुक सिआइएको एजेन्ट थिइन्?

सिक्किमको रानी होप कुक सिआइएको एजेन्ट थिइन्?

एजेन्सी : सन् १९९५ को गर्मी महिनाको एक साँझ सिक्किमको युवराज थोन्डुपको मर्सिडिज कार दार्जिलिङमा रहेको होटेल विन्डामेयरको बाहिर रोकियो। होटलको लाउन्जमा गएर उनले आफ्नो मन पर्ने ड्रिक्स मगाए।

उनको नजर लाउन्जको एक कुनामा रहेको युवतीमा पर्यो। केही छिनमै उनले आफ्नो साथीहरूमार्फत ती युवती अमेरिकी छात्रा रहेको पत्ता लगाए। उनी भारतमा छुट्टी मनाउन आएकी थिइन्। अनि त्यही होटेलमा बसेकी थिइन्।

ती युवतीको नाम थियो होप कुक। युवराज र होपविच भेटघाट सुरु भयो। भेटघाट सुरु भएको केही समयमै दुबै जना एक अर्काप्रति आकर्षित भए।

३६ वर्षका युवराजको श्रीमतीको मृत्यु भइसकेको थियो। उनको तीन सन्तान थिए। उनी लजालु स्वभावका थिए। त्यो समयमा होप कुकको उमेर त्यस्तै १९ वर्षको थियो। दार्जिलिङमा भएको भेटपछि उनीहरूबिच दुई वर्ष भेटघाट भएन।

सन् १९६१ मा होप कुक पुन भारत आइन्। अनि दार्जिलिङको त्यही होटेलमा बसिन्। उनले आफ्नो आत्मकथा’ टाइम चेन्ज’ मा लेखेकी छिन्’ म त्यहाँ गएको युवराजलाई कसरी थाहा भयो मलाई पत्तै भएन। त्यो बेलामा म चिया पिएर बसिरहेको थिए। युवराज पार्लरमा आए।‘

सिक्किमको युवराज गोरखा रेजिमेन्टमा अनरेरी अफिसर्स थिए। अनि उनी गान्तोकको एक सैनिक कार्यक्रममा सहभागी हुन आएका थिए। उनले त्यो दिन युवतीलाई जिमखानामा निम्ता गरे अनि आफूसँग डान्स गर्न आग्रह गरे।

‘त्यो दिन उनी निक्कै खुसी थिए। उनले मेरो कानमा सानो स्वरमा भने एक दिन हामी भियनामा सँगै घुम्ने छौँ’ उनले लेखेकी छिन्।

त्यही रात नै युवराजले उनलाई विवाहको प्रस्ताव गरेका थिए। उनी २१ वर्षकी मात्र थिइन्। उनले युवराजको प्रस्ताव स्वीकार गरिन्। अनि युवराजले उनलाई केही दिनमै गान्तोक लगेर दरबार देखेर उनी दङ्ग परिन्।

सन् १०६३ मा उनीहरूको विवाह भयो। दुवै जनाको विवाहलाई अमेरिकी प्रेसले खुबै महत्त्व दिएको थियो। उनीहरूले होपलाई हलिउड अभिनेत्री ग्रेस केलीसँग तुलना गरेर प्रशंसा गरेका थिए। केलीले मोनाकोको युवराज रेनियर तृतीयसँग विवाह गरेकी थिइन्।

सन् १९६९ मा टाइम पत्रिकाले ‘सिक्किम अ क्विन रिभिजिटेड’ शीर्षकमा लेख लेखेको थियो जसमा होपको दैनिकीबारे लेखिएको थियो। उनी बिहान ८ बजे उठ्छिन् अनि विदेशबाट मगाएको पत्रिका पढ्छिन्। त्यसपछि उनी विभिन्न व्यक्तिलाई पत्र लेख्न,खानाको मेन्यु बनाउन र १५ जना कामदारलाई दिनभरको कामको जिम्मा दिन सक्रिय हुन्थिन्। उनको बेलुकाको समय एक सेट टेनिस खेलेपछि उनी पार्टीहरूमा जान्थिन्। बेलुकाको खाना अगाडि उनी स्कच अनि सोडा पानी पिउँथिन्। गान्तोकमा उनी आफ्नो मर्सिडिजबेन्जमा यात्रा गर्न मन पराउँथिन्। तर विदेश यात्राकोक्रममा प्लेनमा सधैँ इकोनोमी क्लासमै यात्रा गर्थिन्।

होप सिक्किमको युवराज्ञी भएपछि अमेरिकी प्रेस र समाजले उनीबारे निकै चासो राख्न थाल्यो अनि उनी पनि आफू भावी स्वतन्त्र सिक्किमको भावी रानीको जस्तै व्यवहार गर्न थालेकी थिइन्।

न्युज विकले सन् १९७३ जसलाई २ मा प्रकाशित गरेको समाचारमा होपको बदलिँदो व्यवहारबारे उल्लेख गरिएको थियो। न्युज विकका अनुसार उनी जैकलिन केनेडीको शैलीमा सानो स्वरमा बोल्न थालेकी थिइन्। म शब्दको सट्टा हामी शब्दको प्रयोग गर्थिन् अनि आफूलाई महारानीलाई गर्ने जस्तै व्यवहारको अपेक्षा गर्न थालेकी थिइन्।

होपसँग भेटघाट गर्ने विदेशी पाहुनाको सङ्ख्या बढ्दै गइरहेको थियो। भारतको अमेरिकी राजदूत किनेथ किटिङगदेखि अमेरिकी कांग्रेसका सिनेटर चार्ल्स पर्सीसम्म उनीसँग भेट्न गान्तोक जान थालेका थिए।

भारतीय गुप्तचर संस्था रअका सचिव रहेका जिबिएस सद्धुले आफ्नो किताब ‘सिक्किम डान अफ डेमोक्रेशी’मा यसबारे लेखेका छन्।

‘होपले विदेशी प्रतिनिधीहरुसँग भेट्ने क्रम बढेपछि पश्चिमीजगतमा भारत विरुद्ध माहौल बन्न थाल्यो। भारत स्वतन्त्र सिक्किमको विपक्षमा रहेको सन्देशहरू फैलन थाल्यो’ उनले लेखेका छन्’ भारतलाई सन् १९५० को सन्धि बदल्न दबाब बढ्नुमा चोग्यालको भूमिका थियो। अनि यसलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउन उनलाई उनको श्रीमती होपले सघाइरहेकी थिइन्।‘

त्यो बेलामा भारतका लागि अमेरिकी दूतावासमा काम गर्ने विलियम ब्राउनका अनुसार होप कुकसँगको भेटमा उनी सकेसम्म भारतको आलोचना गर्ने मौका छाड्दिनथिन्।

सन् १९६६ मा होपले नाम्ग्याल इन्स्टिच्युटको पत्रिकामा सिक्किमिज थ्यौरी अफ ल्याण्डहोल्डिङ एन्ड द दार्जिलिङ ग्रान्ट शीर्षकमा लेख लेखेकी थिइन्। उनले त्यो लेखमा सन् १९३५ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई दार्जिलिङ जिल्ला दिने निर्णयको वैधानिकताबारे प्रश्न उठाएकी थिइन्।

उनले दार्जिलिङलाई भाडामा दिएको तर्क गरेकी थिइन्। सिक्किमका राज परिवारको अधिकार रहेकाले दार्जिलिङ सिक्किमलाई फिर्ता दिनुपर्ने उनको तर्क थियो।

उनको यो लेख राजनीतिक वृत्तमा डाइनामाइट समान भयो। उनको लेखमा सबै नजर पर्नुको कारण यो इन्स्टिच्युटको सिधा सम्बन्ध अमेरिकी खुफिया एजेन्सी सिआइएसँग जोडेर हेरिन्थ्यो।

केन कानबाएको पुस्तक ‘द सिआइए इन तिब्बत’ मा तिब्बत अप्रेसनमा सहभागी हुनेहरूलाई त्यही इन्स्टिच्युटमा अङ्ग्रेजी भाषा पढाइएको लेखिएको छ। यसले होप कुकको सो लेखलाई हिमाली क्षेत्रमा सिआइएको योजनाको रूपमा हेर्न थालियो।

उनको लेखलाई भारतीय मिडियाले गम्भिरताका साथ लिए। उनीहरूले सिआइएसँग सम्बन्ध रहेको भन्दै उनीबारे लेख्न सुरु गरे। यसलाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले समेत गम्भिर रूपमा लिइन्। सुनन्दा दत्ताको पुस्तक’स्मैश एन्ड ग्रैब’ मा लेखे अनुसार भारतमा जब यसबारे प्रश्न उठ्यो त्यो बेलामा इन्दिरा गान्धीले दार्जिलिङमा सिक्किमको दाबी सामान्य रूपमा आएको हैन। उनले सामान्य रूपमा आएको हैन भनेर गान्तोकलाई होपको लेखबारे भारतको दृष्टिकोणको सन्देश दिन चाहन्थिन्।

विवाद बढ्दै गएपछि चोग्यालले आफ्नो श्रीमतीको भनाइबाट आफूलाई अलग राख्दै सिक्किम सरकार देश र जनताको हितको रक्षाका लागि नामग्याल इन्स्टिच्युटको पत्रिकाबिना नै सम्हाल्न सक्षम रहेको बताए।

भारतीय प्रेसमा होप र सिक्किम राजकुमारको प्रेम सम्बन्धलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै उनलाई सिआइएसँग जोड्न थाल्यो। तर भारतीय खुफिया एजेन्सीमा काम गरेकाहरू भने यसलाई स्वीकार गर्दैनन्।

रअका विशेष सचिव भएका जिबिएसले आफ्नो पुस्तकमा होप सिआइए एजेन्ट नभएको भन्दै लेखेका छन्’ यदि उनी सिआइए एजेन्ट थिइन् र सिक्किमलाई स्वतन्त्र देश बनाउने अप्रेसनमा सहभागी थिइन् भने उनीहरूले निकै होसियारीका साथ काम गर्थे। होपले आफ्नो उपस्थिति दक्षिण अनि पश्चिम सिक्किममा बढाउँथिन्।‘

उनले उपेक्षित भएका नेपाली मूलका सिक्किमवासीसँग निकट हुन्थिन्। जनप्रतिनिधीहरुलाई केही अधिकार प्रत्यायोजन गर्न राजकुमारलाई मनाउन सक्थिन्। तर यसको उल्टो उनले राजकुमारलाई नेपाली मूलका सिक्किमेलीसँग राजकुमारको दुरी बनाइदिइन्।

अर्को सिक्किमका राजकुमार चोग्याल होपसँगको सम्बन्ध भन्दा अगाडि नै सिआइए अनि एमआइ १६ का अधिकारीहरूसँग सम्पर्कमा थिए। त्यसका लागि उनलाई होपको सहयोग चाहिँदैनथ्यो। उनी कोलकाता आउँदा सधैँ सिआइए अनि एमआई ६ का अधिकारीहरू बस्ने क्षेत्रमा नै बस्थे। कतै जाँदा ब्रिफिङ लिएर जान्थे।

तुलनामा हो निकै चलाख थिइन्। सन् १९७३ मा भारतसँग गरेको सम्झौताको भावी परिणामबारे उनले अनुमान गरिसकेकी थिइन्। त्यसैले त उनले त्यसको दुई महिनापछि नै सधैका लागि सिक्किम छाडिन्।

आफ्नो श्रीमानको पतनको प्रत्यक्षदर्शी हुनबाट उनी जोगिइन्। उनले सन् १९७३ अगस्टमा सधैका लागि सिक्किम छाडिन्।

होप फर्कने भएपछि चोग्यालले मुस्किलको समयमा आफूलाई नछाड्न आग्रह गरेका थिए। तर उनी मानिनन्। होपले सिक्किम छाड्दाको प्रत्यक्षदर्शी सिक्किमका मुख्य कार्यकारी बीडी दासले आफ्नो आत्मकथा’मेमोआर्स अफ द इन्डियन डिप्लोम्याट’ मा लेखेका छन्’ उनले चोग्यालको अनुरोध मानिनन्। म कुकलाई हेलिप्याडमा छाड्न गएको थिए। उनले मिस्टर दास मेरो श्रीमानको ख्याल राख्नु भनेर गइन्।‘

उनी सिक्किमबाट अमेरिका गएपछि चोग्यालसँग सम्बन्धविच्छेद नै गरिन् अनि छाडिसकेको अमेरिकी नागरिकता समेत लिइन्।

कतिले होप अमेरिका फर्कनुको कारण चोग्यालले सम्बन्धमा दिएको धोका कारण रहेको समेत बताउँछन्। बेल्जियमकी एक विवाहित महिलासँग चोग्याल सम्बन्धमा रहेको र उनलाई भेट्ने समेत गरेको थाहा पाएपछि होपले सिक्किम छाडेको भन्नेहरू पनि छन्। होपले आफ्नो आत्मकथामा चोग्यालको प्रेमिकाले उनलाई पत्र लेख्ने गरेको लेखेकी छिन्। अधिक मदिरा पिउने चोग्यालको बानीले पनि होप हैरान भएकी थिइन्।

१९७४ जुन १० मा इन्दिरा गान्धीसँगको वार्ता असफल भएसँगै सिक्किमलाई भारतमा विलय गर्ने बाटो खुल्यो। १०७५ अप्रिल ९ बाट भारतीय सेनाले सिक्किमको दरबार घेर्न सुरु गरिसकेका थिए। सिक्किमसँग दुई सय ४३ जना सेना थिए। उनीहरूले हतियार छाडे। २० मिनेटमै सिक्किम कब्जा भयो।

चोग्याल आफ्नै दरबारमा नजरबन्दमा परे। सिक्किम भारतको २२ औँ राज्यको रूपमा विलय भयो। सिक्किममा नाम्ग्याल राजवंशको शासन अन्त्य भयो।

यही बिचमा नाम्ग्याललाई क्यान्सर भयो। उपचारका लागि अमेरिका लगेका उनको सन् १९८२ जनवरी २९ मा निधन भयो। कुक अमेरिकामै बसिन्। उनी कहिल्यै सिक्किम फर्किएर आइनन्। उनी अहिले न्युयोर्कमा छिन्।

बिबिसी हिन्दीबाट साभार

असार ९, २०८० शनिबार २१:३८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।