चार पढेर एकमा झरेका डा. रविन्द्रको उपचार अनुभव : उडिरहेको जहाजमै बाजे नीलो पल्टिए, ब्लडप्रेसर बढ्यो अनि हृदयघात भयो

चार पढेर एकमा झरेका डा. रविन्द्रको उपचार अनुभव : उडिरहेको जहाजमै बाजे नीलो पल्टिए, ब्लडप्रेसर बढ्यो अनि हृदयघात भयो

यात्रा प्राय रमाइलो नै हुन्छ। तर, यात्राका क्रममा भोग्नुपरेको सास्तीले कहिलेकाहिँ खल्लो पनि हुनसक्छ। छाला, यौन तथा कुण्ठरोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाले यात्राका क्रममा यस्तै एउटा अस्वभाविक परिस्थिति भोगे। त्यो पनि उडिरहेको जहाजभित्र।

करिब चार वर्षअघि, दशैंतिहारको बीचको समय डा. रविन्द्र र उनकी श्रीमती बिदा मनाउन इजिप्ट पुगे। नेपाल फर्कने क्रममा हवाइजहाज उडेको करिब डेढघण्टापछि क्रु मेम्बरले अंग्रेजी भाषामा कोही डाक्टर वा मेडिकल पसर्न हुनुहुन्छ भन्दै ‘अनाउन्स’ गरे।

अनाउन्स हुँदा डा. रविन्द्र निदाएका रहेछन्। तर श्रीमतीले सुनेपछि उनलाई उठाइदिइन्। डा. रविन्द्रले ‘म छु’ भन्दै हात उठाए।

एयरहोस्टेजले उनलाई अगाडिको सिटमा आइदिन अनुरोध गरिन्। उनले अरबियन मुलका करिब ७० वर्षका जति देखिने एक वृद्ध बसेको सिटमा पुर्याइन्।

डा. रविन्द्रले वृद्धलाई हेर्दा श्वास फेर्न कठिन भइरहेको थाहा भयो। अक्सिजन कमी भएर शरीर हल्का निलो हुन थालेको थियो। वृद्ध छटपटाइरहेका थिए। यद्यपि अलि–अलि बोल्न सक्ने अवस्थामा भने थिए। तर अरबियन।

धन्न एयरहोस्टेज अरबियन भाषा बोल्थिन् र बिरामीको कुरा डा. रविन्द्रले बुझ्न पाए। बुझ्दै जाँदा उनले हवाइजहाज चढ्नुअघि ४/५ वटा चुरोट सेवन गरेको थाहा भयो। वृद्धलाई जहाज चढेको करिब डेढ घण्टामा चिटचिट पसिना आउने, श्वास फेर्न कठिन हुने, देब्रेतर्फको छाती दुख्ने समस्या भएछ।

लक्षणको आधारमा ती वृद्धलाई हृद्यघात भएको डा. रविन्द्रले थाहा पाए। एयरहोस्टेजलाई जानकारी गराए। एयरहोस्टेजले ट्रेमा अक्सिजन, रक्तचाप नाप्ने मेसिनलगायत अन्य उपकरण ल्याइदिइन्। परीक्षण गर्दा उनमा उच्च रक्तचापसमेत देखियो।

डा. रविन्द्रले सीमित स्रोतसाधनमा कत्ति पनि ढिला नगरी उपचार थाले। अक्सिजन दिए। मर्फिन सेवन गर्न दिए। केहीबेरमा पुरुषको स्वास्थ्यमा हल्का सुधार आउन थाल्यो। दुखाई अलि कम भएछ। अक्सिजन दिएपछि नीलो भएको शरीरले पनि रङ्ग फेर्यो।

करिब डेढ घण्टा हवाइजहाजभित्र उपचार गर्दै डा. रविन्द्र ती वृद्धकै छेउमा बसे। उपचार थालेको करिब डेढ घण्टापछि हवाइजहाज दुबईको सारजाह एयरपोर्टमा अवतरण भयो। जहाज ल्याण्ड हुनेबित्तिकै एम्बुलेन्स लिन आइहाल्यो। जहाजमा बिरामी छन् भन्ने विषयमा समन्वय भइसकेको रहेछ।

त्यहाँ बिरामी लिन पुगेका चिकित्सकलाई डा. रविन्द्रले बिरामीको अवस्था र उनलाई गरिएको उपचारबारे चिकित्सकको टिमलाई जानकारी दिए। एयरपोर्टमा झर्दा बिरामीको अवस्था सुधारोन्मुख थियो। बिरामी लिन पुगेका चिकित्सकसँग उनले इमेल साटासाट गरे। बिरामीलाई एम्बुलेन्सले लिएर गयो।

जहाजबाट झर्दा चालक दलका सदस्यहरूले निक्कै कृतज्ञ हुँदै डा. रविन्द्रलाई धन्यवाद दिँदै बिदाई गरे। जुन क्षण सम्झँदा कुराकानीका क्रममा डा. रविन्द्र अलि भावुक बने। डा. रविन्द्र र उनकी श्रीमती अर्को हवाईजहाज चढेर नेपाल फर्के।

नेपाल फर्केको २/३ दिनमा बिरामीको अवस्था बुझ्दा आईसीयूमा राखेर उपचार भइरहेको र स्वास्थ्यअवस्था पनि स्थिर रहेको थाहा पाए।

कुष्ठरोग लागेका पुरुषले आत्महत्या गरेपछि...
डा. रविन्द्रले धेरै जना कुष्ठरोगको समस्या भएका बिरामीको उपचार गरेका छन्। तर, अझै पनि कुष्ठरोग लागेका बिरामीलाई घृणा गर्नेको जमात कम नभएको उनको अनुभव छ। पूर्व जन्मको पाप हो भन्दै कुष्ठरोग लागेका व्यक्तिले समाजिक विभेद भोग्नुपरेकै अवस्था छ।

करिब ५० वर्षका पुरुषलाई कुष्ठरोगको लक्षण देखिएपछि डा. रविन्द्रकहाँ उपचारका लागि पुगेका थिए। ती पुरुषको उपचार थालेपछि रोग निको हुँदै गएको थियो। तर, दाग हराएको थिएन। करिब ६० प्रतिशत व्यक्तिमा रोग निको भएपछि दाग हराउँछ। तर, ३० प्रतिशतमा दाग देखिनसक्छ।

ती पुरुषलाई करिब एक वर्ष कुष्ठरोगको औषधि उपचार गर्नुपर्ने थियो। तर, करिब ६ महिना उपचार गरेपछि फलोअपका लागि आउनै छाडेका थिए। एक दिन ती कुष्ठरोगपीडितका छोराले डा. रविन्द्रलाई फोन गरे र भने, ‘डासाप बुवा त बित्नुभयो।’

बुवाले आत्महत्या गरेको ती पुरुषका छोराले डा. रविन्द्रलाई सुनाएछन्। ट्वाइलेटमा सुसाइड गरेको भेटिएको रहेछ। समाजले हेर्ने कुदृष्टिका कारण कुष्ठरोग लागेका व्यक्ति मानसिक रूपमा बिच्छिप्त भएर आत्महत्याको बाटो रोजेको डा. रविन्द्रले सुनाए।

‘कुष्ठरोगले थलिएकी महिला परिवारले छोडेको अवस्थामा भेटिइन्’
डा. रविन्द्रले अर्को घटना पनि सुनाए। अछाममा कुष्ठरोगले थलिएकी एक जना महिलाको दर्दनाक स्थितिबारे।

घटना चार वर्ष अघिको हो। डा. रविन्द्रको टिम समाजमा लुकेर रहेका कुष्ठरोगी खोज्ने अनि उपचार गर्ने शिलशिलामा स्वास्थ्य शिविर लिएर अछाम पुगेका थिए।

अछाममा गाउँ चाहर्दै जाँदा गाउँलेहरूले नै कुष्ठरोग लागेकी करिब ५० वर्षकी महिलाको एउटा घर टाढैबाट देखाइदिए। त्यसपछि डा. रविन्द्रको टोली ती महिलाको पुरानो झुपडीमा पुग्यो। अनकन्टार जंगलमा थियो त्यो झुपडी। रोगले थलिएकी महिला सोही झुपडीमा एक्लै भेटिइन्।

ती महिलाका हात र खुट्टाका औंला कुष्ठरोगका कारण पाकेर झरिसकेका थिए। महिला न हिँडडुल गर्न सक्थिन् न काम गर्न नै। औंला नै झरेकाले खाना खानसक्ने अवस्थामासमेत थिइनन् ती महिला। डा. रविन्द्रको टोली त्यहाँ पुग्दा महिलालाई कुष्ठरोग लागेको करिब १५ वर्ष भइसकेको भन्ने थाहा भयो।

त्यसो त ती महिलाका श्रीमान् र छोराछोरीले समेत कुष्ठरोग लागेको थाहा पाएपछि घरै छोडेर अन्तै हिँडिसकेका रहेछन्। ती महिला आफूलाई लागेको रोगबारे जानकार थिइन् तर समाजको डरले अस्पताल मात्र होइन घरबाहिरै निस्कँदी रहिनछिन्।

डा. रविन्द्रको टोलीले महिलाको उपचार सुरु गर्यो। केही औषधि पनि थमाइदिएर टोली स्थानीय स्वास्थ्य चौकी फर्कियो र ती महिलाको निरन्तर औषधि उपचार गर्न स्थानीय स्वास्थ्यकर्मीलाई आग्रह गरे।

पछि ती महिलालाई स्थानीय स्वास्थ्य चौकीले औषधि उपचारको काम पूरा गरेको खबर उनले पाए। औषधि उपचारपछि ती महिलाको रोग ठिक भएको र थप अङ्गभङ्ग हुनबाट बचेको डा. रविन्द्रले खबर पाए।

‘कुष्ठरोग लागेको स्वीकार्नै नसक्दा...’
त्यसैगरी एक जना बिरामीले त कुष्ठरोग हो भनेर स्वीकार्न समेत नसकेको प्रसङ्ग सुनाए डा. रविन्द्रले। करिब ६ वर्षअघि करिब ३० वर्षका स्नातकोत्तर तह पढिररहेका युवा उनीकहाँ उपचारका लागि पुगे।

स्वास्थ्य परीक्षणपछि उनलाई कुष्ठरोग लागेको थाहा भयो। युवालाई रोगबारे बताएर डा. रविन्द्रले उपचारपछि ठिह हुने सल्लाह दिए। तर, ती युवाले कुष्ठरोग लागेको स्वीकार्नै सकेनन्।

ती युवा डा. रविन्द्रकहाँ आउनुअघि पनि अन्य ७ जना चिकित्सककहाँ गएर परीक्षण गराइसकेका रहेछन्। ती सबै चिकित्सकले कुष्ठरोग भएको प्रमाणित गरे पनि उनलाई अझै विश्वास भइरहेको थिएन।

लामो परामर्शपछि युवाले स्वीकारे र औषधि लेखिदिनुस् भनेर त्यहाँबाट निस्किए। यद्यपि ती युवाले आफूलाई कुष्ठरोग लागेको स्वीकार्न नसकेको उनको अनुहारको भावबाटै प्रष्ट देखिरहेका थिए डा. रविन्द्र।

त्यसपछि ती युवा पुनः डा. रविन्द्रलाई भेट्न फर्केनन्। उनको मनमा अहिले पनि खड्किरहेको प्रश्न हो, ‘ती युवाले उपचार गरे की गरेनन्?’

‘बिरामीले एक झोला तारेको माछा ल्याइदिए’
पाँच वर्षअघि विराटनगरको कोशी अञ्चल अस्पतालमा काम गर्दा एक बिरामीले तारेको माछा उपहार ल्याइदिएको प्रसंग पनि डा. रविन्द्र कहिल्यै भुल्दैनन्।

करिब ३० वर्षका युवा उपचारका लागि अस्पताल पुगेका थिए। युवालाई खुट्टमा हिलो लाग्ने समस्याले सताएको थियो। हिलोको कारण खुट्टामा घाउ भएर पाक्दा हिँडडुल गर्नसमेत मुस्किल भएको रहेछ।

माछापालन व्यवसाय गर्ने उनलाई हिलो तथा पानीका कारण हिलोको समस्या भएको थाहा भयो। डा. रविन्द्रले बुट लगाएर काम गर्न सुझाव दिँदै हिलोको औषधि गरे।

उपचार सुरु भएको एक महिनापछि फलोअपमा डा. रविन्द्रलाई भेट्न ओपिडीमा पुगे। फलोअपमा पुग्दा ति युवाको खुट्टको हिलोको समस्या ठिक भइसकेको थियो।

तर, ति युवा फलोअपमा पुग्दा ठूलो झोला बोकेर अस्पताल पुगेका थिए। ओपीडीमा बिरामी जाँचिरहेकै बेला ती युवाले डा. रविन्द्रलाई झोला दिनका लागि अघि सार्दै भने, ‘डाक्टर साप यो झोला राख्नु न!’

त्यसपछि डा. रविन्द्रले झोलामा के छ? भन्दै सोधे। ती युवाले ‘तारेको माछा छ’ भन्ने उत्तर दिए। त्यसपछि उनले असहज मान्दै त्यो कोशेली फिर्ता लान अनुरोध गरे। तर, ती युवाले मानेनन् र कोशेली स्वीकारिदिन निक्कै अनुरोध गरे। त्यसपछि डा. रविन्द्रले झोला समाते।

‘झापा छाड्दा ७५ वर्षे आमैको आँसु’
करिब १६ वर्षअघि झापाको गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेपछिको एउटा प्रसंग पनि डा. रविन्द्र कहिल्यै भुल्दैनन्। त्यहाँ काम गर्दा करिब ७५ वर्षकी आमै स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगिरहन्थिन्।

ती आमै रोगको बारेमा मात्रै कुरा गर्दिन थिइन्। पारिवारिक गफसमेत गर्थिन् डा. रविन्द्रसँग। रविन्द्रले पनि ती आमैसँग खुलस्त कुरा गर्थे। अनि उनलाई औषधि उपचार गरेर घर पठाउँथे।

घर नजिकै भएकाले ती आमै बेला–बेलामा स्वास्थ्य केन्द्र पुगिरहन्थिइन्। उनलाई माया गर्थिन्। तर, सरकारी जागिरे भएर डा. रविन्द्र पाँचथर पुगे। ती आमैले डा. रविन्द्रले झापा छाड्ने बेलामा थाहा पाइनन्।

उनी सरुवा भएको केही दिनमा ती आमै झापाको त्यही स्वास्थ्य केन्द्रमा पुगिछन्। त्यहाँ आमैले डा. रविन्द्रलाई नदेखेपछि सोधखोज गरिछन्। तर, आमैले रविन्द्र त झापा छाडेर पाँचथर पुगिसकेको जानकारी पाइन्।

त्यसपछि त ती आमै स्वास्थ्य केन्द्रमा नै बसेर अब त्यो बाबुलाई कहिले भेट्न पाउँदिन होला भन्दै निक्कै बेर रोइछन्। पछि साथीहरूले ती आमै रोएको विषय सुनाएपछि डा. रविन्द्रको मन अमिलो भयो।

उनले त्यो बेला सोचे, ‘ती आमैसँग बिदा मागेर हिँड्नुपर्ने रहेछ!’

चार पढेर एकमा झरेका डाक्टर
रविन्द्र २०३८ मा झापाको दमकमा जन्मिएका हुन्। उनले दुई कक्षासम्म झापामा नै पढे। त्यसपछि सुनसरीको चकरघट्टीमा मामा घरमा बसेर चार कक्षासम्म पढे। चार कक्षापछि उनी बुवासँग काठमाडौं आए।

उनी पाँच कक्षामा भर्ना हुनुपर्ने थियो। तर, उनलाई त्यो बेलासम्म अंग्रेजी नै आउँदैनथ्यो। त्यसैले उनी घट्टेकुलोस्थित राजधानी आवासीय विद्यालयमा एक कक्षामा भर्ना भए। उनले पाँच कक्षासम्म त्यहीँ पढे।

त्यो बेलासम्म उनको अंग्रेजी राम्रो भयो। ६ कक्षामा भने बालाजुको सिद्धार्थ बनस्थली स्कुलमा भर्ना भए। उनले त्यहीँबाट २०५४ मा एसएलसी गरे। पढाइ अब्बल भएकाले छात्रवृतिमा नै अध्ययन गर्ने मौका पाए उनले।

अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेका उनले एमबीबीएस अध्ययनका लागि शिक्षा मन्त्रालयको छात्रवृति कोटामा नाम निकाले र कलेजअफ मेडिकल साइन्सेस भरतपुरमा एमबीबीएस अध्ययन गर्न थाले।

सन् २००२ मा थालेको एमबीबीएस उनले २००७ मा सके। सरकारी छात्रवृतिमा एमबीबीएस पढेवापत अनिवार्य रूपमा दुई वर्ष छात्रवृति करारमा काम गर्नुपर्ने हुन्थ्यो। त्यसैले उनी अध्ययन गरेबापत काम गर्नका लागि गृहजिल्ला झापाको गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे।

त्यहाँ काम गर्दागर्दै उनले सरकारी जागिरका लागि परीक्षा दिए। सफल पनि भए। २०६६ मा सरकारी स्थायी मेडिकल अधिकृत चिकित्सकका रुपमा जागिरे भए डा. रविन्द्र।

पहिलो पोष्टिङ पर्यो पाँचथरको रवि प्राथमिक स्वास्थ्य केन्द्र। त्यहिँ अढाइ वर्ष काम गर्दा उनको विवाह भयो। पाँचथरपछि डा. रविन्द्र सरुवा भएर भक्तपुरको दुवाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा आए। त्यहाँ ६ महिना काम गरे।

छनोटमा छाला तथा यौन रोग विषय
भक्तपुरमा ६ महिना काम गरेपछि सन् २०१२ मा डा. रविन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा छाला तथा यौन रोग (डर्माटोलोजी) विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन थाले। छात्रवृत्तिमै एमडी अध्ययन सकेका उनी कक्षा ६ देखि हालसम्म पढाइमा पैसा खर्च गर्नुनपरेको सुनाउँछन्।

एमडीपछि डा. रविन्द्र छाला तथा यौन रोग विशेषज्ञका रूपमा मोरङको विराटनगरस्थित तत्कालिन कोशी अञ्चल अस्पताल पुगे। त्यहाँ उनले दुई वर्ष काम गरे। त्यसपछि सरुवा भएर टेकुस्थित स्वास्थ्य सेवा विभागमा आए। ६ वर्षयता उनी विभागमै कार्यरत छन्।

विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुखको रूपमा उनले करिब पाँच वर्ष काम गरे। करिब एक वर्षदेखि भने उनी विभागको व्यवस्थापन महाशाखाको पूर्वाधार विकास शाखाको प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।

छाला, यौन तथा कुण्ठरोग विशेषज्ञ डा. रविन्द्रको सरकारी पद वरिष्ठ कन्सल्टेण्ट डर्माटोलिष्ट हो। उनले सन् २०२० मा अष्ट्रेलियाबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह (मास्टर्स इन पब्लिक हेल्थ/एमपिएच) विषयमा समेत एक वर्षे फेलोसिप गरेका छन्।

असार ९, २०८० शनिबार २०:१५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।