रुसमा ५० हजार निजी सेना रहेको वागनर समूहको विद्रोह, संकटमा राष्ट्रपति

रुसमा ५० हजार निजी सेना रहेको वागनर समूहको विद्रोह, संकटमा राष्ट्रपति

एजेन्सी : युक्रेनसँग लड्न निर्माण गरिएको निजी सेनाले विद्रोह गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुतिनको सङ्कट बढेको छ।
१६ महिनादेखि रुस युक्रेनसँग लडाइमा छ।

युक्रेनी सेनासँग लड्न उनले निजी क्षेत्रमा सेना भर्ना गराएर उपयोग गरेका थिए।

शनिवार एक्कासि निजी सेनातर्फको वागनर समूहले विद्रोहको घोषणा गर्दै देशले नयाँ राष्ट्रपति पाउने घोषणा गर्यो। यसले पुतिन संकटमा परेका छन्।

वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले विद्रोहको घोषणा गरेपछि पुतिनले देशवासीको नाममा सम्बोधन गर्दै रुसको ढाडमा छुरा रोप्ने काम गरेको भन्दै यसको सजाय दिने घोषणा गरेका थिए।
उता विद्रोही समूहका नेताले सैन्य विद्रोह नभई आफू न्यायको पक्षमा मार्च गर्न उत्रिएको दाबी गरेका छन्।

युक्रेनसँग जमिनमा युद्धका लागि प्रिगोजिनको निजी सेनाले राष्ट्रिय सेनालाई सघाएको थियो। यो समूहका अधिकांश सेना जेलमा रहेका कैदीहरू हुन्। उनीहरूले युक्रेन विरुद्ध महत्त्वपूर्ण भूमिका निभाएका थिए।

पूर्वी युक्रेनमा लडाइको मोर्चा सम्हालेका उनको समूह र रुसी सरकारी सेनाका प्रमुखबिच विवाद हुँदै आएको थियो।

उनी आफ्नो फौज लिएर दक्षिणी रुसमा प्रवेश गरिसकेका छन्। उनीहरूले दक्षिणी रुसको रोस्तोव आँन डाग सहर नियन्त्रणमा लिइसकेको जनाइएको छ।
राष्ट्रपति पुतिनले अवस्था जटिल रहेको तर देशको जसरी पनि सुरक्षा गर्ने दाबी गरेका थिए।

रुसको सरकारी सेनाले पर्याप्त मात्रामा हतियार र गोला बारुद नदिएको भन्दै प्रिगोजिन रिसाएका थिए।

उनको समूहमा सेना बढाउन सरकारले सहयोग गरेको थियो। अब उनी सरकारी नियन्त्रणमा छैनन्।

केही यसलाई सैन्य नेतृत्व विरुद्धको कदमको रूपमा हेरिएको छ। केहीले सरकार विरुद्धकै कदमको रूपमा हेरेका छन्।

सो समूहसँग ५० हजार सेना रहेको मानिन्छ। यसको ८०% सेना जेलका अपराधी हुन्। यसलाई निरङ्कुश र आपराधिक सैनिक समूहको रूपमा युक्रेनमा चिनिन्छ।
 

असार ९, २०८० शनिबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।