एक साता भयो ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा मोबाइल नेटवर्क छैन

एक साता भयो ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा मोबाइल नेटवर्क छैन

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ। मोबाइल सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ।
 
फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अवरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्पर्कविहीन भएको छ। गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सम्पर्कविहीन भएको छ। मोबाइल सेवा बन्द हुँदा सूचना आदान–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका–६ का रोशन लिम्बूले बताए। 

उनले भने, 'अहिले बाढीपहिरो गइरहेको छ, आफ्ना आफन्तलाई फोन गरौँ भने नेटवर्क छैन।' फक्ताङ्लुङ गाउँपालिकाको कार्यालयमा समेत टावर अवरुद्ध हुँदा सूचना आदन–प्रदान ठप्प भएको फक्ताङ्लुङ गाउँपालिका दिलनकुमार पताङवाले बताए। उनले भने, 'चार दिन भइसक्यो, गाउँपालिकामा सञ्चारविहीन भएको, सूचना आदान-प्रदान हुन नसक्दा गाउँपालिकाको सेवा प्रवाहसमेत सास्ती भएको छ।' 

ताप्लेजुङमा निरन्तर वर्षा क्रम जारी छ। एक सातादेखि घाम लाग्न सकेको छैन। साँझ–बिहान पानी परिरहेको छ। बाढीपहिराले कहाँ–कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्नेसमेत सूचना प्राप्त गर्न समस्या भएको पताङवाले बताए। 'गाउँपालिकामा हामी सञ्चारविहीन भएर बसेका छौँ, न त फोन आउँछ न जान्छ, सूचनाविहीन बस्नुपरेको छ,' उनले भने।  

फक्ताङलुङ गाउँपालिकामा रहेको बाहेक अरू सबै टावर सञ्चालनमा रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए। महतोले भने, 'ताप्लेजुङका टावर सबै सञ्चालनमा छन्। फक्ताङलुङ गाउँपालिकाको मुरिङलामा रहेको टावरमा नै समस्या भएको छ।' 

असार ९, २०८० शनिबार १९:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।