विश्वकप क्रिकेट छनोटको समूह चरणबाटै बाहिरियो नेपाल

विश्वकप क्रिकेट छनोटको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं : आईसीसी विश्वकप छनोटको समूह चरणबाटै नेपाल बाहिरिएको छ।

समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग ७ विकेटले पराजित भएसँगै नेपाल विश्वकप छनोटको समूहचरणबाटै बाहिरिएको हो।

१६८ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्यान्डले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो।
 
उसका लागि म्याक्स ओ डाउडले सर्वाधिक ९० रनको पारी खेले। विक्रमजित सिंहले ३० रन बनाएर आउट हुँदा वीसली वारेसी ३ रनमा पेभेलियन फर्किए।

बस दी लीडे र तेजा निडमानुडुले क्रमशः ४१ र २ रनको अविजित पारी खेले।

नेपालका सन्दीप लामिछानेले दुई तथा गुल्सन झाले एक विकेट लिए।

त्यसअघि जिम्बावेको बुलाभायोमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएसँगै नेदरल्यान्डले १६८ लक्ष्य पाएको हो।

नेपालका लागि कप्तान रोहित पौडल ३३, कुशल भुर्तेल २७,  भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ शेख ६, करण केसी १ र आशिफ शेख शून्य रनमा आउट भए।

सन्दीप लामिछानेले २७ रन बनाएर आउट हुँदा ललित राजवंशीले अविजित रहँदै १ बल खेले।

बलिङतर्फ नेदरल्याण्डका भान वीकले चार तथा विक्रमजित सिंह र बस दी लीडेले समान दुई–दुई विकेट लिँदा  क्लेटन फ्लोइड र आर्यन दत्तले एक-एक विकेट लिए।

यसअघि भएको तीन खेलमा नेपालले अमेरिकाविरुद्धको एक खेलमा मात्र जित निकालेको थियो। आयोजक जिम्बावे र वेस्ट इन्डिजसँग नेपाल पराजित भएको थियो।

असार ९, २०८० शनिबार १८:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।