जसपाका पाँच नेता पार्टीबाट निष्कासित

जसपाका पाँच नेता पार्टीबाट निष्कासित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ।

शनिबार बसेको बैठकले अनुमोदित विधानको मस्यौदा आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत गर्ने निर्णयसमेत गरेकाे छ।

सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेश जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठीत पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।

केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयहरूलाई बैठकले अनुमोदन गरेको छ।

निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ।

छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ। कारबाहीको निर्णय उपर चित्त नुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने भनिएकाे छ।

असार ९, २०८० शनिबार १७:५८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।