झापाका मिटरब्याज आरोपी विमलीको घर विप्लव नेकपाद्वारा घेराउ

झापाका मिटरब्याज आरोपी विमलीको घर विप्लव नेकपाद्वारा घेराउ

झापा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा विर्तामोडका मिटरब्याज आरोपी नवराज विमलीको घर घेराउ गरेका छन्।

महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजीविरुद्ध संघर्ष र चेतावनी दिँदै आएको पार्टीले शनिबार विर्तामोडमा प्रदर्शनसहित विमलीको घर घेराउ गरेकाे हाे।

पार्टीका मेची ब्यूरो इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा गएका नेताकार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन्।

विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरूलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ।

पीडितको सम्पत्ति फिर्ता नगरेसम्मका लागि घरबाट ब्यानर नहट्ने नेकपाले जनाएको छ।

नेता सिंहले यसलाई सुरुवात मात्र भएकाे बताउँदै झापाका सबै मिटरब्याजीहरूले ठगी गरेको सम्पत्ति पीडितलाई फिर्ता गर्न आग्रह गरेका छन्।

सोझा जनतालाई शोषण गरेर आत्महत्या गर्न बाध्य तुल्याउने कार्य नरोके आम जनताको माझमा मिटरब्याजीलाई झुन्डिन बाध्य पार्ने उनकाे चेतावनी छ।

असार ९, २०८० शनिबार १७:५२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।