८४ मा रास्वपालाई पहिलो पार्टी बन्न कसैले पनि राेक्न सक्दैन : सभापति लामिछाने

८४ मा रास्वपालाई पहिलो पार्टी बन्न कसैले पनि राेक्न सक्दैन : सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताए।

‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क गरे।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे। लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे।

सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरू बीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सचेत गराए। हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरूले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौचको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाई थियो।

सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरूको बचाउमा लाग्न पनि सिंगो पार्टी पङ्क्तिलाई सचेत गराए। उनले सभ्य र शिष्ट ढंगले विपक्षहरूको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटक पटक दोहोर्याए।

सभापति लामिछानेले भ्रष्टहरूलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिबद्धता समेत दोहोर्याए।ब

असार ९, २०८० शनिबार १७:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।