संखुवासभा बाढीपहिरो : २० जना अझै बेपत्ता, खोजी गर्न एक हप्तापछि कुकुर परिचालन

संखुवासभा बाढीपहिरो : २० जना अझै बेपत्ता, खोजी गर्न एक हप्तापछि कुकुर परिचालन

संखुवासभा : संखुवासभा बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य गर्नका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।

गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए। एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो। 

नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुई वटा कुकुरको सहायतामा शनिबार बिहान सभाखोलादेखि खोजी थालिएकोसंखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गरिरहेको उनले बताए।

बाढीपहिरोमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि उनीहरुको अवस्था पत्ता नलागेपछि तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिइएको उनले बताए।

कुकुरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज र भोलि हेवाखोला र सभाखोला किनार आसपास खोजी गर्नेछन्। बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन्।

बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युत्का १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन्।

असार ९, २०८० शनिबार १४:४७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।