‘गर या मर’ को खेलमा ओपनर आसिफ शेख डक आउट

‘गर या मर’ को खेलमा ओपनर आसिफ शेख डक आउट

काठमाडौं : विश्वकप छनोटको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्स विरुद्ध नेपालका ओपनर आसिफ शेख डक आउट भएका छन्।

सुपर सिक्समा पुग्न खेल जित्ने पर्ने दबाब रहेका बेलामा २ बल खेलेका आसिफ भ्यान बीकको बलमा बोल्ड भए भने मात्र ७ रनमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट गुमायो।

नेदरल्यान्ड्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले टिममा कुनै परिवर्तन गरेको छैन।

जिम्बावेमा जारी प्रतियोगितामा आज नेदरल्यान्ड्सलाई हराए नेपाल सुपर सिक्स चरणमा पुग्ने लगभग पक्का हुनेछ। तर नेदरल्यान्ड्ससँगको यो खेल हारेमा भने नेपालको विश्वकप छनोट यात्रा सकिनेछ।

सुपर सिक्समा पुग्ने सम्भावनालाई लगभग निश्चित गर्न नेपाललाई नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब छ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपर सिक्सको सम्भावनाबाट बाहिरिसकेको छ।

त्यसैगरी जिम्बावे र वेस्ट इन्डिजले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान लगभग पक्का गरिसकेका छन्।

अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछ। नेपालको तीन खेलमा र नेदरल्यान्ड्सको दुई खेलमा समान दुई अङ्क छ।

यदि नेपालले नेदरल्यान्ड्सलाई हराए नेपालको अन्तिम ६ मा स्थान लगभग बन्नेछ। नेपालको जितपछि अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई पराजित गरेमा पनि रनरेटका आधारमा मात्र नेपाल बाहिरिने सम्भावना रहन्छ।

तर नेपालले यो खेल हारेमा भने नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ।

असार ९, २०८० शनिबार १३:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।