पोस्टमार्टमले देखायो लोपोन्मुख गिद्धको मृत्युको कारण विषाक्त खाना

पोस्टमार्टमले देखायो लोपोन्मुख गिद्धको मृत्युको कारण विषाक्त खाना

नवलपरासी : बर्दघाट–सुस्तापूर्वको कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ। कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मंगलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए। 

‘गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो,’ संरक्षणकर्मी डीबी चौधरीले भने, ‘पोस्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध मरेको पुष्टि भएको छ।’

विषादीयुक्त खाना खाएर स्याल मरेको र सोही स्यालको सिनो खाएका कारण गिद्धको मृत्यु भएको पाइएको छ। 

‘गिद्ध संरक्षणमा विषादी प्रयोग चुनौतीपूर्ण बनेको छ। यस क्षेत्रमा गिद्ध मरेको चार महिनायता यो दोस्रो घटना हो,’ उनले भने।

गत फागुनमा समेत विषाक्त खानाका कारण यहाँ पाँच डङ्गर प्रजातिका गिद्ध मरेका थिए। प्रकृतिको कूचीकारको रुपमा रहेको लोपोन्मुख प्रजातिको गिद्ध संरक्षण गर्नु सबैको कर्तव्य भएको चौधरी बताउँछन्।

गाईवस्तुलाई दुखाइ कम गराउन खुवाइने प्रतिबन्धित औषधि तथा स्याल मार्न प्रयोग गरिने विषादीका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। 

गिद्ध मृत भेटिएको केरुङ्गे खोलाबाट नजिकैको दूरीमा गिद्ध संरक्षण गर्न निर्माण गरिएको पिठौलीको जटायु रेष्टुरेण्ट समेत पर्दछ। यस क्षेत्रमा ठूलठूला सिमलका रुख रहेकाले गुँड बनाउन र बस्न गिद्धका लागि उक्त ठाउँ उपयुक्त रहेको छ। 

असार ९, २०८० शनिबार १२:३०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।