नेपाल छिरेको ९ दिनपछि देशभर फैलियो मनसुन

नेपाल छिरेको ९ दिनपछि देशभर फैलियो मनसुन

काठमाडौं : गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो।

देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन, असार ८ गतेदेखि १० गतेसम्ममा देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा प्रभावित हुनसक्ने देखिन्छ।

असार ८, २०८० शुक्रबार १७:५८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।