विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने

विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने

काठमाडौं : विश्वकप छनोटको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराए नेपाल सुपर सिक्स चरणमा पुग्ने लगभग पक्का हुनेछ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबको मैदानमा भोलि (शनिबार) हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे सुरु हुँदैछ।

सुपर सिक्समा पुग्ने सम्भावनालाई लगभग सुनिश्चत गर्न नेपाललाई नेदरल्यान्ड्ससँगको खेल जित्नै पर्ने दबाब छ।

जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपर सिक्सको सम्भावनाबाट बाहिरिसकेको छ।

त्यसैगरी जिम्बावे र वेस्ट इन्डिजले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान लगभग पक्का गरिसकेका छन्।

अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछ। नेपालको तीन खेलमा र नेदरल्यान्ड्सको दुई खेलमा समान दुई अङ्क छ।

यदि नेपालले नेदरल्यान्ड्सलाई हराए नेपालको अन्तिम ६ मा स्थान लगभग बन्नेछ। नेपालको जितपछि अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई पराजित गरेमा पनि रनरेटका आधारमा मात्र नेपाल बाहिरिने सम्भावना रहन्छ।

तर नेदरल्यान्ड्ससँगकै खेल हारेमा भने नेपालको विश्वकप छनोट यात्रा सकिनेछ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।

नेदरल्यान्ड्स भने पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

असार ८, २०८० शुक्रबार १७:४९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।