मध्यमधार : ट्रान्सम्यान समोनको आमाले चित्त दुखाउँदै भनिन् - ‘मैले त छोरी जन्माएको हो तर यो कसरी यस्ती भई!’
काठमाडौं : समोन र उनको पार्टनरबीच सामिप्यता बढेसँगै उनको गेटअप अनि साथीसँगको सामिप्यतालाई लिएर घरमा गाइँगुइँ सुरु भयो।
‘यि दुई चाहिने भन्दा बढी किन नजिकिन्छन्? यी दुवैको सम्बन्ध के हो?’
दुवै जना सँगै भएको मौका छोपेर शिक्षक समेत रहेका समोनका बुबाले सोधे, ‘तिमीहरू बीचको सम्बन्ध के हो? नढाँटी भन।’
कपाल पाले पनि सानैदेखि महिलाको भन्दा पुरुषकै लुगा लगाउन मन पराउने समोनले नढाँटी आफ्नो लैंगिकताबारे बुबालाई भने, ‘हामी दुई एकअर्कालाई प्रेम गर्छौं।’
उनका बुबाले यसलाई सामान्य रुपमा लिएर भने, ‘अरूले के भन्लान् नसोच्नु। तिमीहरु जे छौ खुसी रहनु।’ त्यसपछि त भुईंमा खुट्टा भएन समोनको। बुबाले नै भने जसरी बुझेपछि के चाहियो र उनलाई?
म त केटी पो तर किन केटी नै मन पर्छ?
भनिन्छ नि ‘दुनियाँले जति राम्रो गरे पनि परिवारले स्विकारेन भने गाह्रो हुन्छ जीवन। परिवारले बुझिदियो भने समाजसँग लड्नै परे पनि सहज भइहाल्छ।’
बुबाले त उनको लैंगिकता सहजै स्वीकारे तर यो कुराले आमाको भने छाती नराम्ररी पोल्यो।
आमाले भनिन्, ‘मेरो छोरीलाई गाउँ भरीकाले छक्का, हिजडा भन्छन्। मैले छोरी जन्माएको हो। यो कसरी यस्ती भई?’
जब हजुरआमाले नै तँ जस्ता धेरै हुन्छन् भनिन्...
पाल्पामा जन्मेका हुन् समोन। उनका बुबा रुद्र बहादुर क्षेत्री र आमा रेखा क्षेत्री। एक दिदी र एक दाई छन् उनको। उनी घरको ‘कान्छा’। बुबाले पढाएकै थानी डाँडा माध्यमिक विद्यालयमा पढे समोनले।
सानैदेखि केटी साथीतिर आकर्षित हुन्थे। आफ्नो आकर्षण देखेर उनी नै छक्क पर्थे। अनि सोच्थे, ‘म त केटी पो तर किन केटी नै मन पर्छ?’
यो प्रश्नले उनलाई लामो समयसम्म छाडेन। उनले बिस्तारै सामाजिक सञ्जाल र युट्युबमा यसबारे खोज्न थाले। अनि उनलाई लाग्यो ‘म समलिंगी महिला पो रैछु कि क्या हो?’
७० वर्ष कटिसक्नुभएकी उनको हजुरआमाले भनिन्, ‘तँ बारे त मलाई थाहा छ। तिमीहरुले के गर्छौ, कसलाई मन पराउँछौं भन्ने थाहा छ।’
उनलाई महिलाको गेट अप कहिल्यै मन परेन। सानोमा जस्तोसुकै कपडा लगाए पनि खास मतलब हुने कुरा भएन। हुर्कंदै गएपछि छोरी सामाजिक संस्कारदेखि लुगासम्म छोरीकै भूमिकामा रहे हुने भनेर अभिभावकले सोच्नु सामान्य नै हो। तर समोनको बानीबेहोरा सबै पुरुषको जस्तो।
घरमा मात्र होइन उनको मामाघरमा पनि कुरा उठ्यो उनको स्वभावबारे।
तर ७० वर्ष कटिसक्नुभएकी उनको हजुरआमाले भनिन्, ‘तँ बारे त मलाई थाहा छ। तिमीहरुले के गर्छौ, कसलाई मन पराउँछौं भन्ने थाहा छ।’
समोनले हजुरआमालाई सोधे, ‘कसरी थाहा पाउनु भयो?’ हजुरआमाले भनिन्, ‘निलहिरा समाजको कार्यालय कहिलेकाहीं जान्छु।’
भैरहवामा भएको निलहिरा समाजको शाखा कार्यालयमा समोनको मामाले काम गर्थे। बेलाबेलामा हुने सेक्सुअल ओरिन्टेशनमा हजुरआमा पनि जाने गरेकी रहिछिन्। उनलाई घर अनि मामाघरमा कतै गाह्रो भएन।
उनले मितिनी नेपालको फेसबुकमा आउने अपडेट पढ्न थालेपछि विभिन्न यौनिकताबारे बुझ्न थाले। अनि थाहा भयो उनी समलिंगी हैन ‘ट्रान्सम्यान’, तेस्रोलिंगी पुरुष पो रहेछन्।
समाजले कस्तो नजरले हेर्छ त्यति वास्ता गर्दैनन् उनी। उनको परिवार अनि मामाघरले सहजै स्विकारेका छन् उनको लैंगिकता। त्यसैले जीवन सहजै चलिरहेको छ। जीवनसँगै अध्ययन पनि जारी छ उनको।
‘कानुन बन्यो भने विवाह नै गर्थें’
प्लस टू देखि नै समोनले कानुन पढे। अहिले उनी नेपाल ल क्याम्पसमा स्नातक तहमा आठौं समेस्टरमा कानुन पढिरहेका छन्।
क्याम्पसमा पनि उनको यौनिकताबारे साथीहरुलाई थाहा नभएको होइन। साथीहरुले यति ‘सर्पोट’ गर्छन् की उनलाई कहिल्यै बुलिङ महसुस गर्नु परेन।
सन् २०१९ मा उनले कपाल काटे। त्यसपछिको अनुभूति उनले वर्णनै गर्न नसकिने गरी खुसी लागेको बताए, ‘कपाल काटेर ऐना हेरें। मैले खोजेको म त्यहाँ थिएँ।’
‘धेरै साथीहरुले यौनिकता नस्वीकार्दा नपढेको थाहा पाएँ। तर मेरा साथीहरुलाई मबारे थाहा छ। उनीहरुले यौनिकताबारे सर्वोच्च अदालतले गरेका फैसलाहरु पनि हेरिरहेका हुन्छन्। मलाई उनीहरुले नस्वीकार्ने कुरै भएन। घर-परिवार र क्याम्पससम्म मलाई सहज छ।’
समोनको गेटअप पुरुषको जस्तो भए पनि कपाल उनले काटेका थिएनन्। कपाल काटौं जस्तो नलाग्ने होइन तर झ्याप्पै आँट आएन रे।
सन् २०१९ मा उनले कपाल काटे। त्यसपछिको अनुभूति उनले वर्णनै गर्न नसकिने गरी खुसी लागेको बताए, ‘कपाल काटेर ऐना हेरें। मैले खोजेको म त्यहाँ थिएँ।’
बाटोमा हिंड्दा, ‘केटा हो कि केटी हो?’ गाडि चढ्दा पनि उस्तै भनाइ सुन्नु नपर्ने होइन।
सुरुवातमा उनलाई अप्ठ्यारो पनि लाग्थ्यो। जब उनी निलहिरा समाजको संगतमा पुगे, त्यहाँ हुने कार्यक्रमहरुमा सहभागी भएपछि भने कसैले भाइ हो की बहिनी हो भनिदियो भने पनि सहजै भनिदिन्छन्, ‘भाइ हो नि।’
उनको आवाज बदलिएको छैन। आवाज त केटीको जस्तो छ नि भनेर सोधिनै हाल्छन्। त्यतिबेला उनी भनिदिन्छन्, ‘पहिलेदेखि स्वरै यस्तो हो।’
अब म अधिवक्ता हुनु अगाडि नै कानुन बन्यो भने विवाह गर्छु। त्यो बेलासम्म पनि अदालतको आदेश अनुसार सरकारले कानुन बनाएन भने मै लड्छु।
पूरै महिला अथवा पूरै पुरुष जस्तो देखिन तेस्रोलिंगी महिला अनि पुरुषले हर्मोन खान्छन्। यसमा समोनको विचार फरक रहेछ।
‘मैले हर्मोन खाएँ भने पूरै केटा जस्तो देखिन्छु। समाजमा त कि केटा कि केटी मात्रै हुने भए। हामीले पनि हर्मोन खायौं भने त को हुने तेस्रोलिंगी?’
समोनले विवाहको बारेमा नसोचेका होइनन्। उनलाई माया गर्ने प्रेमीका पनि छिन् तर उनको परिवारले स्वीकारेको छैन।
उनको पाटर्नरका बुबा पनि शिक्षक। तर उनको परिवार मानिरहेका छैनन् दुवैको सम्बन्ध। बिस्तारै बुझ्ने आश छ दुवैमा।
सर्वोच्च अदालतले समलैंगिकता विवाहबारे कानुन बनाउन आदेश नदिएको हैन। तर सरकारले अझै कानुन बनाएको छैन। उनलाई लाग्छ यदि कानुन बन्यो भने विवाह गर्न पाउँथें। कानुन बनेन भने चैं अधिवक्ता भएर अदालती लडाइमा जाने उनको योजना छ।
‘अब म अधिवक्ता हुनु अगाडि नै कानुन बन्यो भने विवाह गर्छु। त्यो बेलासम्म पनि अदालतको आदेश अनुसार सरकारले कानुन बनाएन भने मै लड्छु,’ उनले उकेरासँग भने।
मध्यमधारका अन्य सामग्री
असार ८, २०८० शुक्रबार १६:४७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।