ठमेल र पोखरामा फेला पर्‍यो एलएसडी, मुख्य कारोबारी इटालियन नागरिक

ठमेल र पोखरामा फेला पर्‍यो एलएसडी, मुख्य कारोबारी इटालियन नागरिक

काठमाडौं : इटालियन नागरिकले नेपालमा पार्टी ड्रग्सको रूपमा परिचित अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) भित्र्याउने गरेको खुलेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको एलएसडी बरामद गरेपछि नेपाल भित्र्याउने मुख्य कारोबारी समातिएका हुन्।

ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट कारोबारीसहित १० हजार १ सय ३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ। जसमा विदेशी नागरिकसमेत छन्।

शुक्रबार ब्यूरोको अप्रेशन अनि पक्राउ परेकाहरूबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ब्यूरोका एसपी चक्रराज जोशीले प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेका थिए।

जोशीका अनुसार नेपालमा एलएसडीको कारोबार भइरहेको सूचना आएपछि निगरानी बढाएको थियो। निगरानीको क्रममा असार ५ गते  ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ परे।

प्रहरीले ठमेलबाटै मुखिया गुरुङ समातेपछि पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परे। यी दुवैको बयानबाट यी सबै कारोबार गर्ने इटालियन नागरिक डेबिड मण्डियो रहेको खुल्यो। प्रहरीले उनलाई पनि पक्राउ गर्यो।

ब्यूरोले सो एलएसडी भारतको स्थलमार्गबाट नेपाल भित्रिएको दाबी गरेको छ। एलएसडी नेपाल ल्याउने इटालियन नागरिकै रहेको र उनले नेपाली नागरिकहरुमार्फत विक्री गर्ने गरेको खुलेको उनले बताए।

ठमेल र पोखराका लाउन्ज मुख्य क्षेत्र
प्रहरीले पक्राउ गरेकाहरू रात्रीकालीन मनोरञ्जनको हबको रूपमा रहेको ठमेल र पोखरामा सक्रिय देखिएका छन्। यसले यी दुवै क्षेत्रका लाउन्ज अनि बारहरूमा यस्ता पार्टी ड्रग्सको कारोबार हुने गरेको देखिन्छ।

ठमेलका केही ठूला लाउन्जहरू यसअघि नै लागुऔषध कारोबारमा नजोडिएका हैनन्। तर, गाँजा अनि चरेसमा पक्राउ पर्ने गरेका थिए। तर यसपटक भने कृतिम लागुऔषध एलएसडी नै फेला पर्यो त्यो पनि ठूलो परिणाममा।

जानकार स्रोतका अनुसार सोर्हखुट्टेबाट उत्तरपूर्वतिर जाने स्थानमा रहेका अधिकांश रेष्टुरेन्टहरूमा खुला रूपमै गाँजा अनि चरेस बिक्री हुन्छ। तर, सोह्रखुट्टे प्रहरीले वास्ता गर्दैन।

एलएसडीको परिणाम अनि पक्राउ परेका दुई जना सोही क्षेत्रको भएकाले ठमेल क्षेत्रका लाउन्ज अनि बारहरूमा एलएसडीको कारोबार फैलिइसकेको देखिन्छ।

पहिचान गर्न कठिन
यस्ता प्रकारका लागुऔषध पहिचान गर्न निकै कठिन हुन्छ। कारण यसको आकार। प्रहरीले शुक्रबार सार्वजनिक गरेको एलएसडी स्टिकर आकारको थियो।

सामान्य व्यक्तिले हेर्दा स्टिकरै सम्झन्छ। तर, स्टिकरको गम लाग्ने स्थानमा लागुऔषध हुन्छ। स्टिकर लिएर त्यही क्षेत्रमा चाट्ने वा आफूले खाने पेय पदार्थमा राखेर खाँदा यसले नशा लगाउँछ।

एलएसडी विश्वव्यापी रूपमा पार्टी ड्रग्सको रूपमा परिचित छ। ट्रान्स पार्टीहरूमा यसको ब्यापक प्रयोग हुन्छ। यो स्टिकर ठमेल क्षेत्रमा फेला परेकाले ठमेल क्षेत्रमा समेत ट्रान्स पार्टी भइरहेको देखाएको छ।

भ्रमित पार्ने कडा लागुऔषध
शुक्रबार पत्रकार सम्मेलनमा सहभागी नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला नार्कोटिक्स शाखाका डीएसपी पवन ढुंगानाका अनुसार एलएसडी केमिकलमा आधारित कडा लागुऔषध हो। यसले प्रयोगकर्तालाई भ्रमित बनाउने काम गर्छ। यसको प्रयोकर्ताहरूमा लागुऔषधको गम्भीर असर देखिँदै जान्छ।

असार ८, २०८० शुक्रबार १५:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।