कर्णालीमा विपदमा ज्यान गुमाउनेको संख्या घट्दै, कस्तो छ यस वर्षको तयारी?
सुर्खेत : लामो समयको खडेरीपछि कर्णालीमा पनि मनसुन सक्रिय भएको छ। पूर्वी नेपालका विभिन्न जिल्लामा बितण्डा मच्चाइरहेको बाढी, पहिरो र प्राकृतिक विपत्तिको जोखिमबाट कर्णाली पनि अछुतो छैन।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मात्रै देशभर मनसुनजन्य प्रकोपबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने आँकलन गरिहेको छ। जसबाट कर्णालीमा मात्रै करिब ३५ हजार ३ सय ३३ जना प्रभावित हुनसक्ने अनुमान छ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कलाई हेर्दा सुर्खेत, दैलेख र रूकुम पश्चिम बाढीपहिरोको उच्च जोखिममा छन्। कर्णालीमा तीन वर्ष यता विपदबाट दुई सय १८ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा विपदमा परी ८५ जनाको मृत्यु भएको छ। त्यहीवर्ष चार सय १६ विपद्का घटनामा परी ११ जना बेपत्ता भएका थिए।
विपदमै परी एक हजार एक सय ३४ घरमा क्षति पुगेको थियो भने एक हजार तीन सय २१ घरपरिवार आंशिक तथा पूर्ण रूपमा विस्थापित भएका थिए। त्यहि वर्ष ३५ करोड ५६ लाख ९९ हजार पाँच सय ६४ रुपैयाँ बराबरको धनसम्पत्तिको क्षति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरेको छ।
त्यस्तैगरी आर्थिक वर्ष २०७८/०७९ मा विपदबाट कर्णालीमा ६८ जनाको मृत्यु भयो। १६ जना बेपत्ता र ७३ जना घाइते भए। त्यही वर्ष एक हजार दुई सय १५ वटा विपद्का घटना भएका थिए। जसअन्तर्गत एक हजार एक सय ८६ घरमा क्षति भएको थियो।
चार सय ४२ घरपरिवार विस्थापित हुँदा ५१ करोड ४१ लाख ५२ हजार दुई सय ५७ रुपैयाँ बराबरको धनसम्पत्तिको क्षति भएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा विपद्का घटनामा परी ६५ जनाको मृत्यु भएको छ। यही वर्षको जेठ मसान्तसम्म तीन सय ४८ वटा बाढीपहिरोका घटना भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए।
उनका अनुसार यस वर्ष कर्णालीमा दुई हजार एक सय ७६ विपद्जन्य घटनामा परी २८ जना बेपत्ता भएका छन्। दुई हजार नौ सय ४७ घरपरिवार विस्थापित भएका छन्।
त्यस्तै एक सय १४ जना घाइते भएका छन् भने ६ हजार दुई सय १७ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। जसबाट ६४ करोड ४६ लाख ३१ हजार सात सय ८४ रुपैयाँ बराबरको क्षति भएको छ।
चालु आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै विपद्का घटना हुम्लामा भएका छन्। विभिन्न मनसुनजन्य घटनामा परी आठ जनाको मृत्यु हुँदा ६ जना घाइते र ९ सय ४ घरमा क्षति पुगेको छ। घटनामा दुई जना बेपत्ता छन् भने तीन हजार दुई सय ८६ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरीले जनाएको छ।
प्रदेश राजधानी समेत रहेको सुर्खेतमा चार सय ३४ वटा विपद्जन्य घटनामा परी १८ जना घाइते भएका छन्। तीन सय ७९ घरमा क्षति पुग्दा पाँच सय ६६ घरपरिवार विस्थापित भएका छन्।
त्यस्तै डोल्पामा सबैभन्दा कम विपद्का घटना भएका छन्। चालु आर्थिक वर्षको जेठसम्ममा डोल्पामा १५ वटा विपद्का घटना घट्दा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जसबाट ३२ घरपरिवार विस्थापित भएका छन्।
विपद्पूर्व र विपद्पछिको खोज उद्धार, राहत र पुर्नस्थापनाका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको अधिकृत रोकायाले जानकारी दिए।
सरकारले चालु आर्थिक वर्षमा विपद् पूर्वतयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० लाई अध्यावधिक गरी केही दिनमै लागू गर्ने अधिकृत रोकायाले बताए।
‘विपद्पूर्व जनचेतना जगाउने तथा विपद्पछि खोज, उद्धार, राहत र पुर्नस्थापनाका लागि प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय रेडक्रसको उद्धार टोलीसँग आवश्यक समन्वय भई तयारी अवस्थामा छौँ,’ अधिकृत रोकायाले भने, ‘केही दिनमा सरकारले विपद् प्रतिकार्य योजना २०८० लागू गर्ने तयारी समेत थालेको छ।’
रोकायाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कर्णालीका १० जिल्लामा एक करोड ६० लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको छ। यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड एक लाख र चालु आर्थिक वर्ष २०७९/८० मा ९७ लाख ९ हजार ९ सय २३ रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।
असार ८, २०८० शुक्रबार १६:४०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।