देशमा नयाँ विमानस्थल थप्न आवश्यक छैन : सांसद भट्टराई

देशमा नयाँ विमानस्थल थप्न आवश्यक छैन : सांसद भट्टराई

काठमाडौं : एमाले सांसद योगेश भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताएका छन्।

प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उनले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिंदै नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताए।

उनले देशभर अधिकांश स्थानमा सडक सञ्जालसँगै यातायातको पहुँच पुगेको जनाउँदै आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्ने बताए।

‘५५ विमानस्थलमध्ये केही सञ्चालनमा छैनन् र हुनसक्ने अवस्थामा पनि छैनन्। यस्तो अवस्थामा नयाँ विमानस्थल थप्ने कि नथप्ने, यो एउटा ठूलो नीतिगत प्रश्न छ,’ उनले भने, ‘यो नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिंदो ठाउँमा विमानस्थल थपिंदैछ। जुन ठाउँबाट ४५ मिनेटको यातायातको दूरीमा अर्को ठूलो विमानस्थल छ।’

सांसद भट्टराईले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक कम्पनी’का रुपमा लैजानुको विकल्प नभएको बताए। साथै उनले निगममा अनावश्यक कर्मचारी भर्ना गरिएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नाफाको विषयमा गलत तथ्याङ्क प्रस्तुत गरेको आरोप पनि लगाए।

असार ८, २०८० शुक्रबार १४:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।