सूचना प्रविधिसम्बन्धी कानुन छिट्टै कार्यान्वयनमा ल्याइँदैछ : प्रचण्ड

सूचना प्रविधिसम्बन्धी कानुन छिट्टै कार्यान्वयनमा ल्याइँदैछ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सूचना प्रविधिसम्बन्धी कानुन सदनबाट पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको बताएका छन्।

ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्दै उनले सूचना प्रविधिसम्बन्धी ऐन, साइबर सुरक्षा नीतिलगायत सूचना प्रविधिसँग सम्बन्धित कानुन सदनबाट पारित गर्न सरकारको ध्यान केन्द्रित भएको बताए।

‘सूचना तथा सञ्चार प्रविधिसम्बन्धी आवश्यक आइटी बिल, साइबर सुरक्षा नीति, स्टार्टअप नीति र इ–गभर्नेन्स, इ–कमर्श ऐनलगायत आवश्यक कानुन एवं नीति जति सक्दो चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउने प्रक्रियालाई छिटो सम्पन्न गर्न सरकार लागिपरेको छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले सूचना तथा सञ्चार प्रविधिलाई जनताको पहुँचमा पुर्याउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी एवं चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिए।

उनले यससम्बन्धी थप आवश्यक नीति, नियम र कानुन जति सक्दो छिटो पारित गर्दै कार्यान्वयनका पक्षमा विशेष ध्यान केन्द्रित गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताए।

उनले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर अझ उत्कृष्ट र समय सापेक्ष बनाउँदै डिजिटल नेपालको मार्गचित्रलाई सार्थक बनाउन सरकारको पहल रहने उल्लेख गरे।

दुई दिनसम्म चल्ने सम्मेलनमा दक्षिण कोरिया, जापान, सिङ्गापुर, भारत र बङ्गलादेशका सूचना प्रविधिसम्बन्धी विज्ञको सहभागिता रहेको छ।

असार ८, २०८० शुक्रबार १२:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।